यात्रा, नियमी र सोमको रस

शिरिष शाम
२७ भदौ २०८३ ८:०८

“हो, म यही शैलीमा जिउन चाहन्छु।” नियमीको अनुहार नहेरी मैले जवाफ दिएँ।

“अनि यसरी भौतारिनु नै जीवन हो त?” योसँगै उसले अरू पनि के-के भनिरहेकी थिई। म सुनिरहेँ।

कृष्णमन्दिरमा क्रमशः अँध्यारो बढ्दै थियो। “दाइ, अब पनि कफी थप्ने हो र?” पसल बन्द गर्ने संकेत गर्दै कफीसपको भाइ बोल्यो।

“नथपौँ, फेरि निद्रा लाग्दैन,” उसले पनि उठ्ने संकेत गरी।

“जीवन यसरी नै चल्छ त, सोम?”

“चल्दासम्म चलाउने, त्यसपछि सोचौंला।” मैले केही नसोची जवाफ दिएँ र मन्दिरतिर हेर्दै म हल्का मुस्कुराएँ। लगभग ९ बजेतिर हामी छुट्टियौँ। म होस्टेल गएँ।

मैले जीवनका धेरै यात्राहरू एक्लै गरेँ। मध्यपूर्वसहित एसिया र दक्षिणी अमेरिकी देशहरू अनि नेपालका धेरै ठाउँहरू। यात्रामा मानिसहरू धेरै भेटेँ। कसैसँग आफैँ टाढिएँ त कोही आफूबाट टाढिए।

जीवन र यात्रा दुवैमा साथी भएपछि बन्धन थपिन्छ। यसले यात्राको स्वतन्त्रता संकुचित पारिदिन्छ अनि उद्देश्यमा परिवर्तन ल्याइदिन्छ। अनि, साझा प्राथमिकताले व्यक्तिगत स्वतन्त्रतालाई किनारा लगाइदिन्छ। मलाई किनारा होइन, मूलधार मन पर्छ।

“तपाईँ अहिले कहाँ काम गर्नुहुन्छ? यानी कि तपाईँको सि.भी.मा नियमित काम गरेको देखिँदैन नि?” नयाँ काम खोज्न गएको स्कूलका प्रिन्सिपलले सोधे।

“म घुम्नका लागि काम गर्छु।”

“ए…, अनि घुमाइचाहिँ कस्तो नि?” उनी रोकिएनन्।

“मेरो यात्राको उद्देश्य हुन्छ तर सीमा हुँदैन। तपाईँको काम छाडेपछि पनि म घुम्न नै जाने हो।” दुवैजना हल्का मुस्कुरायौँ।

नयाँ स्कूलमा मेरो काम सुरु भयो।

काठमाडौंका करिब एक दर्जन स्कूलहरूमा मैले काम गरिसकेँ, तर मेरो नियति या यथार्थता के हो भने मैले दोहोर्‍याएर कुनै स्कूलमा काम गरेको छैन। अनि यो शहरमा मैले डेरा लिनुपरेको पनि छैन।

म विद्यार्थीहरूलाई संगीत सिकाउँछु अनि चित्र कोर्न पनि। जहाँ काम गर्छु, त्यहीँ बस्छु। काम नपाउँदा होस्टेल बस्छु।

जब यो शहर छोड्छु, सबै कुरा नै नयाँ हुन्छ मसँग। न कुनै व्यवहार, न दायित्व। शहरबाट निस्कँदा र फर्कँदा म उस्तै अवस्थामा हुन्छु। कालिप्रसाद रिजालको शब्द जस्तै- “भोलि उठी कहाँ जाने केही थाहा छैन…”

मलाई मानिस भेट्न रमाइलो लाग्छ। तर मान्छे भेटेपछि के गफ गर्ने होला भन्ने कुराले मलाई पिरोल्छ। साँचो भन्नुपर्दा, मान्छे भेट्ने बित्तिकै गफ गर्न आउँदैन। के बोलौँ के बोलौं लाग्छ। आफूलाई लागेको सबै कुरा बोलिदिन्छु। त्यही भएर होला, एक घण्टाभन्दा बढी समय गफ गरेको मानिस मसँग निकै नजिक हुन्छन्।

मेरो लामो समयदेखिको साथी लगभग कोही छैनन्। स्कूल छाडेपछि साथीहरू पनि छाडिन्छन्, तर मलाई नरमाइलो लाग्दैन। अरूको पो पोखरीको पानीजस्तो जीवन छ त? म खहरेसँग कसले लामो मित्रता निभाउँछ? मलाई पनि झिना-मसिना कुरा शेयर गर्ने साथित्व मन पर्दैन। जिजीविषाले मलाई गितार र पेन्सिलसँगको मित्रता दियो। यसैमा आफूलाई मस्त लाग्छ।

मेरो वार्षिक क्यालेन्डर छ- छ महिना मन लगाएर काम गर्ने, तीन महिना घुम्ने योजना बनाउँदै काम गर्ने र तीन महिना घुम्ने।

यसपालिको यात्राको टुङ्गो थिएन। भर्खरै काम सुरु भएको थियो। प्रस्ट भन्नुपर्दा स्कूलसँग गरेको सम्झौताको समय अनि पुग्दो खर्च पनि जुटेको थिएन। म आफ्नै पाराको भए पनि सम्झौताको भने सम्मान गर्छु।

नियमीले कहिलेकाहीँ फोन गर्छे। फोन लामै समय चल्छ। तर गफको रेसियो भने सयमा दसको अनुपातमा हुन्छ। यानी कि, दस मिनेटको गफमा नौ मिनेट उ बोल्छे, एक मिनेट म बोल्छु।

उसका दैनिकी, परिवार, साथीभाइ, अफिस, मेरो जीवनशैली अनि यात्रा-उसलाई लागेको कुरा बोलिरहन्छे। म सबै कुरा सुनिरहन्छु।

लगभग प्रत्येक कलको अन्त्य मेरो जीवनशैली र अबको मेरो यात्रामा गएर टुङ्गिन्छ।

गतवर्ष मैले दक्षिण भारतको यात्रा गरेँ। दक्षिण भारतको यो यात्रा मेरो लागि नौलो थिएन। पाँच वर्षअगाडि पनि म त्यहाँ गएको थिएँ। यो वर्ष तीन महिनाको अवधिको लागि त्यहाँ जानुअघि मसँग खासै कुनै योजना पनि थिएन।

नयाँ ठाउँमा मान्छेको बोल्ने शैली अनि उनीहरूको टिपिकल फेसन मलाई मन पर्छ। मलाई घण्टौं ट्रेन स्टेसनमा, हाट-बजारमा बसेर मान्छेहरू हेरिरहन मन पर्छ। अझ भारतमा त मलाई सडक किनारामा किताब बेच्ने, चिट्ठा बेच्ने अनि मुरली/विच्छुबाजा र केटाकेटीको खेलौना बेच्ने मान्छेको शैली हेरिरहन मन लाग्छ।

अग्नितीर्थम् अगाडि एउटा सानो केटो पुस्तक बेचिरहेको थियो। उसले अब्दुल कलामको जीवनीका विभिन्न पेजहरूबाट वाक्य निकाल्दै मराठी टोनको अंग्रेजीमा केही भनिरहेको थियो- “डिम इज नट द्याट विच यु सी व्हाइल स्लिपिङ, इट इज समथिङ द्याट डज नट लेट यु स्लिप” । त्यहाँ केही मान्छेहरू किताबको मोलमोलाइ गरिरहेका थिए।

मैले त्यो केटोसँग स्वामी विवेकानन्दको प्रवचनको संग्रह किनेँ। केटोले त्यो किताब ढोग्यो अनि मलाई नमस्कार गरेर “कहाँबाट आएको?” भनी मराठी टोनको हिन्दीमा सोध्यो। मैले नेपालबाट भनेपछि किताब हेरिरहेका अरू मानिसले मलाई हेरे। किताब मोलमोलाइ गर्ने मानिसहरू पनि नेपाली नै रहेछन्। मैले पहिलोपल्ट नियमीलाई त्यहीँ देखेँ।

नियमीको समूह एक हप्ताका लागि त्यहाँ गएको रहेछ। उनीहरू एउटा इन्जिनियरिङ कम्पनीका कर्मचारीहरू रहेछन्। सबैसँग चिनजान भयो। हामीले सँगै मन्दिर दर्शन गर्‍याैं र कफी पियौँ।

“तपाईँ कहाँ बस्नुहुन्छ?” समूहको कसैले मलाई सोध्यो। मैले मेरो होटलको ठेगाना बताइदिएँ।

संयोग, उनीहरूले पनि त्यही एरियाको होटल लिएका रहेछन्।

मलाई साँझको बेलाको मन्दिर खूब रमाइलो लाग्छ। उनीहरू होटल जान खोज्दै थिए। मैले साँझमा त यहाँ धेरै रमाइलो हुन्छ भनेकाले उनीहरू रोकिए।

म मन्दिरको छेउको सिँढीमा बसेर दिउँसो किनेको किताब हेरिरहेको थिएँ।

“यो कस्तो किताब हो?” नियमीले मेरो हातको किताब आफूतिर तान्दै सोधी।

“मलाई दर्शन मन पर्छ। पूर्वीय दर्शनमा शंकराचार्यपछिका विद्वान् विवेकानन्द हुन्। यो उनले विभिन्न कार्यक्रममा दिएको प्रवचनको किताब हो,” मैले भनेँ।

“स्वामी विवेकानन्द को हुन् नि?” समूहको कसैले सोध्यो।

“श्री रामकृष्ण परमहंसका प्रमुख शिष्य, जसलाई पूर्वीय दर्शनका ज्ञाता एवं आध्यात्मिक साधकको रूपमा लिइन्छ। उनले अमेरिकामा भएको विश्व धर्म सभामा हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए।” मेरो उत्तरपछि कसैले कुनै प्रश्न गरेन।

म कुनै मन्दिर क्षेत्रमा घुम्दा राति अबेरसम्म बिताउने गर्छु। कहिलेकाहीँ त लगभग उज्यालो हुने अवस्था नै हुन्छ। त्यस रात लगभग मध्यरातिसम्म नै हामी मन्दिरवरिपरि नै बसिरह्यौँ। उनीहरूको समूह मलाई अनुशासित लाग्यो।

विश्व राजनीति अनि नेपालको परिवेश, विश्व साहित्य अनि नोबेल पुरस्कारदेखि हलिउड/बलिउड सबै विषयमा गफ भयो। प्राविधिक पेसामा भएकाले हो वा के हो मलाई थाहा भएन, आफूले जानेको कुरामा समूहका सदस्यहरू अलि जिद्दी गर्थे। तर, “सत्यचाहिँ यो हो नि” भन्दा उनीहरू समझदार देखिन्थे।

भोलिपल्ट मेरो ह्वाट्सएपमा एउटा नेपाली नम्बरबाट फोन आयो। त्यो नियमीको नम्बर रहेछ। उनीहरूको समूहले आज पनि सँगै घुम्ने अनुरोध गर्यो। हामी दिनभरि समुद्रको किनारा/धनुषकोडी बीचमा घुम्यौँ।

सबैजना समुद्रको किनारमा रमाइलो गरिरहेका थिए। गर्मी अनि समुद्रको नुनिलो पानीले मलाई छिट्टै गलाउँछ। म छेउको बालुवामा बसिरहेको थिएँ।

“तपाईँ किन कुनै विषयमा पहिले बोल्नुहुन्न?” नियमीले प्रश्न गरी।

“मलाई सुरुमा बोल्न आउँदैन। के बोलौँ के बोलौँ हुन्छ,” नियमीको अनुहार नहेरी मैले उत्तर दिएँ।

“तपाईँ यति धेरै कुरा जान्नुहुन्छ। तपाईँलाई त फ्लर्ट गर्न पनि आउँदो रहेछ है।” उ बोल्दै गर्दा मैले उसको अनुहार नियालेँ। अन्दाजी २२/२३ वर्षकी थेप्चो नाक अनि बाटुलो निधार भएकी, गहूँगोरी केटी।

“त्यो त कसरी गर्छन् मलाई थाहा छैन, तर मनमा आएको कुरा भन्नचाहिँ मलाई लाज लाग्दैन,” आफूछेउमै आएको समुद्रको छाल नियाल्दै मैले भनेँ।

“तपाईँ गाँजा खानुहुन्छ?” मेरो आँखामा हेर्दै उसले सोधी।

“अहँ। म त्यस्तो देखिन्छु र?” मेरो प्रश्न झर्न नपाउँदै “तपाईँको अनुहार र आँखा हेर्दा हल्का झ्याप जस्तो देखिन्छ नि,” उसले निसंकोच भनी।

“मलाई प्रकृतिले यस्तो स्वरूप र व्यहोरा दिएर होला, गाँजा खानेहरूसँग चाहिँ संगति हुन्छ,” हल्का मुस्कुराउँदै मैले उत्तर दिएँ।

“गाँजा त म पनि खाँदिन, तर गाँजा खानेहरू भने चिन्छु,” उसको उत्तरले मलाई तरंगित गर्यो। हिजो चिनेको मान्छेलाई सिधै गजडी भन्छे यो केटी!

“बियर खानुहुन्छ?” का उसका प्रश्न रोकिएका थिएनन्।

“खाँदिन।”

“अरू कुरा?”

“नारिवल पानी खान्छु।”

उसले छेउको पसलबाट नारिवल पानी र सोडा लिएर आई।

“नारिवल पानी पनि त सोडाजस्तै छ, फेरि किन नि?” मैले प्रश्न गरेँ।

“उस्तै-उस्तै वस्तुको कम्बिनेसन राम्रो हुन्छ। मिसाएर खाँदा मजा आउँछ,” उसले भनी। मलाई उसको शैली र शब्दहरूमा कुनै उछाल थिएन। उसले मसँग नयाँ साथीजस्तो नभई पुरानो साथीजस्तै व्यवहार गरी।

बेलुका हामी बार गयौँ। उनीहरूले बियर पिए। मैले सोडापानी।

“बियर त सोमरस हो नि। तपाईँ त पूर्वीय दर्शन मन पराउने मान्छे, पिउनुस्,” समूहमा कसैले भन्यो।

“ठीक हो, तर रस पिउँदा साथी चाहिन्छ। तपाईँहरू पिउनुस्, म तपाईँहरूको रसको साथी यानी कि ‘सोम’,” मैले सहजताका साथ भनिदिएँ।

त्यसपछि त्यो समूहले मेरो नाम ‘सोम’ राखिदियो। उनीहरूलाई राम्रैसँग बियर लागेको थियो। नामाकरणको प्रस्ताव नियमीको थियो। समूहले बियरको सुरमा अनुमोदन गर्यो।

उनीहरूलाई होटल पुर्‍याएर म आफ्नो कोठामा आएँ।

राति लखतरान परेर सुतिएछ।

सात बजेतिर आँखा खुल्यो। उसले राति फोन गरेकी रहिछ, मैले थाहा पाइनँ।

बिहान ९ बजे उनीहरूको चेन्नईको ट्रेन थियो। यो कुरा मलाई उसले हिजो भनेकी थिई। मैले कलब्याक गरेँ।

“हामीलाई छोडेपछि झ्याप हो कि क्या हो सोम त?” बिना औपचारिकतापट्टि केटी प्वाक्क बोली।

“होइन।”

“अनि फोन काट्यौ नि त!”

“निदाएर।”

“निद्रामा पनि फोन काट्छन् र?” केटी रोकिइन।

“मोबाइलमा त्यस्तै सिस्टम राखेको छु। तिमी निदाएनौ?” मैले प्रश्न गरेँ।

“सोमले छाडेपछि रसले मात्र कहाँ काम दिन्छ त?” केटीले लामो हाँसो हाँसी। र, रोकिँदै बोली, “आज हाम्रो ट्रेन छ, नौ बजे। टर्मिनस नं. २।”

“अँ, थाहा छ।”

“फुर्सद छ?”

“छ।”

“हाम्रो होटलको गाडीले पुर्‍याइदिन्छ। आऊ सँगै जाऔँ।”

“मेरो पनि होटलको गाडी छ। भने भने पुर्‍याइदिन्छ।”

“आउँछौ?”

“मनले जाने मन गरेको छ, शरीरले आँट गरेको छैन।”

“बिरामी छौ?”

“छैन।”

“अनि, साथ दिन शरीरले सक्दैन?”

“थाहा छैन।”

“कतिबेला थाहा हुन्छ?”

“सायद, वासरूम गएपछि।”

“फोहोरी! फ्रेस भएको छैनौ?”

“अहँ। जान मन लागेको छ, तर फोन गर्दै के गर्नु भनेर।”

केटी हाँसी। म फोन छाडेर वासरूम दौडिएँ।

फ्रेस भएर निस्कँदा झन्डै आठ बजिसकेको थियो। रिसेप्सनमा गाडीको कुरा गरेँ। RRM टर्मिनस नं. २।

उनीहरूको समूह सामान बोकेर बाहिर निस्कँदै थियो। मलाई देख्नेबित्तिकै नियमी मुस्कुराई।

“ऊ सोम…” समूहमा कसैले भन्यो।

नियमी मेरो छेउमा थिई। मेरो कानछेउमा फुसफुसाई, “शरीरले कि मनले?”

“मनले,” मैले भनेँ।

“शरीरले?”

“अहिले त जितेजस्तो छ।”

पहिला हामी दुईजना हास्यौँ, अरूले के बुझे बुझे, अनि हामी सबै हास्यौँ।

ट्रेन छुट्ने समयसम्म हामीले धेरै कुरा गरेनौँ। समूहका अरू साथीहरू आ-आफैँ कुरामा व्यस्त थिए। म स्टेसनको रमिता हेर्दै बसिरहेँ।

“तिमी अब कहाँ जाने?” उसले सोधी।

“थाहा छैन।”

“सधैँ थाहा हुँदैन?”

“थाहा नहुनु नै त मैले खोजेको जीवन हो।”

“अनि मलाई?”

“तिमीलाई के?”

“मलाई कहाँ छाड्ने?”

मैले उसको अनुहार हेरेँ। “तिमीलाई त तिम्रो ट्रेनले लैजान्छ।”

ऊ केहीबेर चुप लागी। “मान्छे छाड्न सजिलो छ है?”

“मान्छे होइन, ठाउँ छाड्न सजिलो हो।”

“कसरी?”

“भावनाले गर्दा।”

ट्रेनको हर्न बज्यो। सबैजना उठे। नियमी पनि उठी।

“सोम!” ऊ मलाई हेरिरहेकी थिई।

मैले उसको अनुहारमा हेरेँ।

“फोनमा अटो-रिजेक्ट जस्तै अटो-डिलिट त छैन नि?” मलाई ऊ अलि गम्भीर भएजस्तो लाग्यो।

“अब सेभ गर्छु। सेभ नभई डिलिट हुँदैन।”

“सोम… र… स!” सबै हासे।

ट्रेन बिस्तारै अघि बढ्यो। म प्लेटफर्ममै उभिएर हेरिरहेँ। झ्यालबाट उनीहरूले हात हल्लाए, मैले पनि हात हल्लाएँ।

ट्रेन आँखाबाट ओझेल परेपछि मलाई पहिलोपल्ट लाग्यो— यात्रा भनेको सधैँ ठाउँ बदल्नु मात्र रहेनछ। कहिलेकाहीँ कुनै मान्छे भेटिनु पनि यात्रा रहेछ, जसको कुनै सीमा हुँदैन।

मलाई सीमा मन पर्दैन।

सायद नियमी, यात्राको एउटा भेट वा यात्राको सीमा!

म होटल फर्किएँ।

नेपाल फर्किएपछि मेरो दैनिकी सुरु भयो। काठमाडौँ फर्किएर तिनै केटाकेटी, पेन्सिल अनि गितार। छ महिनाको काम सकिन अझै केही हप्ता बाँकी थियो। त्यसपछि कहाँ जाने भन्ने सोचिसकेको थिइनँ।

स्कूलबाट फर्किएपछि मोबाइल हेरेँ। नियमीको म्यासेज रहेछ।

“सोम, यसपालि कहाँ?”

मैले केहीबेर स्क्रिन हेरिरहेँ। पहिलेजस्तो झर्को लागेन। टाइप गरेँ- “थाहा छैन।”

केही सेकेन्डमै उसको जवाफ आयो- “झुट।”

“किन?”

“यसपालि मनले जाने ठाउँ त थाहा होला नि!”

म मुस्कुराएँ। झ्यालबाहिर पानी पर्न थालेको थियो। टेबलमा गितार थियो, छेउमा पेन्सिल र आधा कोरिएको एउटा चित्र। भोलि अमूर्त चित्र र संगीतको सम्बन्धको बारेमा पढाउनु थियो। ध्यान चित्रमा लगाउन खोजेको, मोबाइलमा नै अडिरह्यो।

मैले फेरि मोबाइल उठाएँ- “कर्णालीतिर पदयात्रा।”

केही बेरपछि उसको म्यासेज आयो- “सायद, एक्लै?”

म लामो समयसम्म केही नलेखी बसिरहेँ। एक्लो यात्रा मेरो बानी थियो, तर बानी र जीवन एउटै कुरा होइन रहेछ।

मैले लेखेँ- “यसपालि सोमलाई रस चाहिन्छ जस्तो छ।”

उताबाट धेरैबेरसम्म कुनै जवाफ आएन। अनि एउटा मात्र म्यासेज आयो- “रसको कुनै आकार हुँदैन, ढिला नगर।”

मैले मोबाइल टेबलमा राखेँ। बाहिर झमझम पानी परिरहेको थियो। हिजोसम्म ‘भोलि उठि कहाँ जाने थाहा नभएको’ मानिस म, तर यसपटक पहिलोपल्ट, यात्राको गन्तव्य भूगोल नभई कुनै अदृश्य स्थान थियो- जुन बिन्दुबाट म खहरेबाट हिमतालमा रूपान्तरण हुँदै थिएँ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *