‘डंकी’ : उज्यालो सपनातर्फको कालो बाटो
अमेरिका पुग्ने सपना बोकेर मृत्युसँग पौँठेजोरी खेल्दै अवैध बाटोमा निस्किएको एक नेपाली युवाको आशा, विवशता, सङ्घर्ष र त्रासदीको जीवन्त आख्यान हो- ‘डंकी : सपनाको कालबाटो’।
अमेरिका संसारका लाखौँ मानिसका लागि एउटा समृद्ध देश मात्र होइन, सुन्दर भविष्यको पर्याय बनेको छ। अवसर, आर्थिक सुरक्षा र सम्मानित जीवनको खोजीमा त्यहाँ पुग्न चाहनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।
तर अमेरिका पुग्ने वैधानिक ढोका सबैका लागि खुल्दैन। जब सहज र सुरक्षित बाटाहरू बन्द हुन्छन्, मानिसले मृत्युसँग सम्झौता गर्दै अवैध बाटो रोज्छ। यही अमेरिकी सपना, त्यसले जन्माएको मोह र सपना पछ्याउँदा मानिसले चुकाउनुपर्ने भयावह मूल्यको औपन्यासिक अभिलेख हो डा. चन्द्र गिरीको उपन्यास ‘डंकी : सपनाको कालबाटो’।
उपन्यासको केन्द्रमा पशुपति अर्थात् गाउँले नाम ‘पस्पते’ छ। इलामको सलकपुरमा शिक्षकको सामान्य तर सुरक्षित जीवन बिताइरहेको ऊ अमेरिका पुगेपछि आफ्नो र परिवारको भविष्य उज्यालो हुने विश्वासमा छ।
यही विश्वासले उसलाई चलिरहेको पेसा छोड्न, परिवारबाट टाढिन र चालीस लाख रुपैयाँभन्दा बढी रकम दलालको हातमा सुम्पिन तयार बनाउँछ। तर उसले रोजेको बाटो कुनै सामान्य यात्रा होइन। त्यो पासपोर्ट, भिसा, निश्चित गन्तव्य र सुरक्षित सवारीसाधनको यात्रा नभएर मानिसको जीवन दलालको निर्देशन र भाग्यको भरोसामा छोडिएको ‘डंकी रुट’ हो।
‘डङ्की’ शब्दले एउटा देशबाट अर्को देशमा उफ्रँदै, कानुनी प्रणालीलाई छल्दै गन्तव्यतर्फ अघि बढ्ने अवैध यात्रालाई जनाउँछ। उपन्यासमा यही यात्राका अनेक तह खुल्दै जान्छन्।
विमानस्थल, अपरिचित सहर, बन्द ट्रक, समुद्री बाटो, मरुभूमि, खोला र डरलाग्दो जंगल पार गर्दै पस्पते अमेरिका पुग्ने प्रयास गर्छ। यात्रुहरू कहाँ जाँदैछन्, अर्को दलाल को हो र अब कस्तो खतरा आउँदै छ भन्ने कुरा उनीहरू आफैँलाई थाहा हुँदैन। पैसा तिरेपछि पनि उनीहरू ग्राहक होइनन्; दलालको इसारामा चल्नुपर्ने असहाय वस्तुजस्ता हुन्छन्।
उपन्यासको सबैभन्दा प्रभावकारी पक्ष यात्राको भौगोलिक विस्तार र त्यससँग जोडिएको त्रासदी हो। विशेषगरी कोलम्बिया र पानामाको बीचमा पर्ने ड्यारियन ग्यापको घना जङ्गल केवल एउटा स्थानका रूपमा आउँदैन; त्यो मानव सभ्यता, कानुन र सुरक्षाभन्दा बाहिरको भयावह संसार बनेर उपस्थित हुन्छ। हिंस्रक जीवजन्तु, विषालु सर्प, उर्लंदा खोला, हिलो, भोक, रोग, लुटपाट र मृत्यु यात्रुका निरन्तर सहयात्री बन्छन्।
बाटोमा लडेका मानिसलाई उठाएर अस्पताल पुर्याउने सुविधा छैन। सँगै हिँडेको साथी मर्दा सम्मानपूर्वक बिदाइ गर्ने समयसमेत हुँदैन। बाँचेकाहरूले मृत शरीरलाई पछाडि छोडेर अघि बढ्नुपर्छ, किनकि रोकिनु भनेको आफ्नै जीवनलाई थप जोखिममा पार्नु हो।
डा. गिरीले पस्पतेको यात्रालाई एउटा व्यक्तिको निजी साहसिक कथा मात्र बनाएका छैनन्। ऊ अवसरविहीन समाजले उत्पादन गरेको प्रतिनिधि पात्र हो। उसको काँधमा परिवारको अपेक्षा, ऋणको भारी, सामाजिक प्रतिष्ठाको दबाब र असफल भएर फर्कन नसक्ने मनोवैज्ञानिक बाध्यता छ।
त्यसैले चरम यातना भोगिसकेपछि पनि ऊ आफ्नो सपना त्याग्न सक्दैन। एक पटकको प्रयास असफल भएर फर्कनुपर्दा पनि उसले पुनः त्यही बाटो समात्नु व्यक्तिगत जिद्दी मात्र होइन; सपनाले विवेकलाई कसरी पराजित गर्छ भन्ने मार्मिक उदाहरण हो।
लेखक आफैँले दक्षिण अमेरिका, अमेरिका-मेक्सिको सीमाक्षेत्रलगायत विश्वका धेरै भूभागको भ्रमण गरेका छन्। कोलम्बियाको नेकोक्लीमा अमेरिका जान प्रतीक्षारत आप्रवासीसँगको भेट, डंकी रुटबाट अमेरिका पुगेका व्यक्तिहरूसँग गरिएको संवाद तथा विभिन्न अध्ययन सामग्रीको प्रयोगले कथालाई विश्वसनीय बनाएको देखिन्छ। यही कारण उपन्यासका ठाउँ, बाटा, मौसम, जोखिम र यात्राका चरणहरू काल्पनिक सजावटजस्ता लाग्दैनन्।
तथ्य र कल्पनाको संयोजनले पाठकलाई पस्पतेसँगै जङ्गलमा हिँडिरहेको, बन्द ट्रकमा निसास्सिरहेको र सीमामा समातिने डरले काँपिरहेको अनुभूति गराउँछ।
उपन्यासको भाषा सरल, प्रवाहपूर्ण र बोधगम्य छ। पात्र र परिवेशअनुसार नेपालीसँगै हिन्दी, अङ्ग्रेजी तथा स्पेनिस शब्दको प्रयोग हुनु स्वाभाविक लाग्छ। संवादले घटनालाई गति दिएको छ भने एकपछि अर्को संकटले पाठकीय उत्सुकता कायम राख्छ।
दृश्यात्मक वर्णनका कारण धेरै प्रसंग चलचित्रका दृश्यझैं आँखाअगाडि आउँछन्। पस्पतेको व्यक्तिगत पीडासँगै विभिन्न देशका आप्रवासीहरूको साझा विवशता जोडिँदा कथाले व्यापक मानवीय आयाम प्राप्त गरेको छ।
यद्यपि उपन्यास पूर्णतः सीमामुक्त छैन। यात्राका स्थान र जोखिमको विस्तृत विवरण कतिपय ठाउँमा लामो लाग्न सक्छ। मुख्य पात्रको निरन्तर सङ्घर्षलाई तीव्र बनाउने क्रममा केही सहायक पात्रको मनोविज्ञान अझ गहिराइमा पुग्न पाएको भए कृति थप प्रभावशाली बन्न सक्थ्यो।
साथै, अवैध यात्राको भयावहता अत्यन्त सशक्त रूपमा प्रस्तुत भए पनि मानिसलाई यस्तो बाटो रोज्न बाध्य बनाउने नेपालको राजनीतिक, आर्थिक र सामाजिक संरचनाको अझ विस्तृत विश्लेषणले उपन्यासको वैचारिक धरातल फराकिलो बनाउन सक्थ्यो। तर यी सीमा कृतिको मूल सामर्थ्यलाई कमजोर पार्ने खालका छैनन्।
अन्ततः पस्पते अमेरिका पुग्छ, तर अमेरिका पुग्नु नै उसको संघर्षको अन्त्य हुँदैन। अवैध यात्रापछिको अनिश्चित जीवन, श्रम, भय र असुरक्षाले ‘सपनाको देश’ को अर्को अनुहार देखाउँछ।
उसको जीवन दुःखान्त मोडमा पुग्नु र वर्षौंपछि छोरी प्राचीले बाबुलाई सम्बोधन गर्दै लेखेको पत्रले कथा समाप्त हुनु अत्यन्त मार्मिक छ।
पस्पतेले देखेको सपना उसले पूर्ण रूपमा भोग्न नपाए पनि छोरीको सफलतामा त्यसको एउटा अंश पूरा हुन्छ। तर पाठकको मनमा प्रश्न रहिरहन्छ- एउटा पुस्ताको भविष्य बनाउन अर्को पुस्ताले जीवन नै गुमाउनुपर्ने हो भने त्यो सपनाको वास्तविक मूल्य कति हो?
‘डंकी : सपनाको कालबाटो’ अवैध रूपमा अमेरिका प्रवेश गर्ने तरिकाको कथा होइन; त्यस्तो बाटो रोज्न बाध्य मानिसको आशा, भय, साहस, भ्रम र आत्मसम्मानको कथा हो। यसले डङ्की रुटको रोमाञ्चभन्दा त्यसको अमानवीय मूल्य देखाउँछ।
साथै, आफ्ना नागरिकलाई देशभित्र भविष्यको भरोसा दिन नसक्ने राज्य र समाजमाथि गम्भीर प्रश्न उठाउँछ। अनुसन्धानमा आधारित यथार्थ, संवेदनशील कथाविन्यास र जीवन्त प्रस्तुति यस कृतिका प्रमुख शक्ति हुन्।
समकालीन आप्रवासनको त्रासदी बुझ्न चाहने पाठकका लागि यो केवल पठनीय उपन्यास होइन, हाम्रो समयको एउटा महत्त्वपूर्ण सामाजिक दस्तावेज पनि हो।
अमेरिकी वातावरण संरक्षण निकायमा वरिष्ठ सल्लाहकार तथा ड्युक विश्वविद्यालयमा एड्जङ्क्ट प्रोफेसरका रूपमा कार्यरत डा. चन्द्र गिरीको पछिल्लो उपन्यास ‘डंकी : सपनाको कालबाटो’ केही हप्ताअघि मात्रै सार्वजनिक भएको हो।
यसअघि प्रकाशित उनको आत्मकथा ‘मैले नदेखेको सपना’ र यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ पनि पाठकमाझ निकै चर्चित छन्। तर पछिल्लो उपन्यास ‘डंकी : सपनाको कालबाटो’ ले उनको साहित्यिक व्यक्तित्वलाई अझ फराकिलो बनाउँदै नेपाली साहित्यमा नयाँ उचाइ प्रदान गरेको छ।
No ads found for this position



Facebook Comment