भोटेकोशी बाढीपहिरो: उद्धार र राहत थप प्रभावकारी बनाउन विपक्षी दलहरूको जोड
काठमाडौं। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरो प्रभावितहरूका लागि जारी उद्धार तथा राहत कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन सरकारसँग माग गरेकी छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त कुरा बताएकी हुन्।
बैठकमा मुख्यगरी रसुवा, नुवाकोट, धादिङलगायत बाढीपहिरोबाट बढी प्रभावित जिल्लाको वर्तमान अवस्था र सरकारले गरिरहेका कामकारबाहीबारे गम्भीर समीक्षा भएको थापाले जानकारी दिइन्।
“बाढीपहिरोपछि जारी उद्धार, राहत तथा पुनर्स्थापनाका काम कत्तिको प्रभावकारी भइरहेका छन् र तिनलाई कसरी निरन्तरता दिने भन्ने विषयमा विपक्षी दलहरूबीच छलफल भएको छ,” थापाले भनिन्, “यसअघि सर्वदलीय बैठकमा सहमति भएका नौबुँदे निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि समीक्षा गरियो।”
यसैगरी, बुधबारको संसद बैठकमा सत्तापक्षका सभापतिले प्रस्ताव गरेको ‘संसदीय विशेष समिति गठन’ गर्ने विषय तथा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ भ्रमणबारे पनि बैठकमा विचार-विमर्श भएको उनले बताइन्।
विपद्को यस घडीमा स्थानीय तथा प्रदेश सरकारले समन्वय गरेर काम गरिरहेको भए पनि संघीय सरकारले अझ जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन्।
नेपाली कांग्रेसको आह्वानमा आयोजित उक्त बैठकमा प्रतिपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment