कानुनमन्त्री सोविता गौतमको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा आपत्ति, माफी माग्न रामकुमारी झाँक्रीको माग

डिसी नेपाल
२५ भदौ २०८३ १४:१७

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा माथिल्लो सदनले अवरोध पुर्‍याएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमप्रति कडा आपत्ति जनाएकी छन्।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयक पारित गर्‍यो र कति काम गर्‍यो भन्नेबारे सत्यतथ्य विवरण तत्काल सार्वजनिक गर्न माग गरिन्।

केही दिनअघि कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएका कारण जनताले चाहेअनुरूप कानुन बनाउन नसकिएको’ टिप्पणी गरेकी थिइन्। मन्त्रीको सोही भनाइप्रति लक्षित गर्दै झाँक्रीले सरकारले आफ्ना कमजोरी र अयोग्यता ढाक्न राष्ट्रिय सभालाई अकारण दोष दिएको आरोप लगाइन्।

“सरकारले राष्ट्रिय सभामा कति कानुन दर्ता गर्‍यो? प्रतिनिधिसभाबाट कति विधेयक प्रतिवेदनसहित आए र हामीले कतिमा काम गर्‍यौँ, त्यसको विवरण राष्ट्रिय सभाले सार्वजनिक गरोस्,” झाँक्रीले भनिन्, “यस्ता भ्रामक र झुटो खबर फैलाउने कानुनमन्त्रीलाई सरकारले कारबाही गर्नुपर्छ।”

उनले यदि राष्ट्रिय सभाले साँच्चै कानुन निर्माणमा रुकावट पैदा गरेको भए जनताले आफूहरूलाई दण्डित गर्ने उल्लेख गर्दै, आफ्नो दलको उपस्थिति छैन भन्दैमा संवैधानिक सभाको साख गिराउने छुट कसैलाई नभएको बताइन्।

कानुनमन्त्री संसद् र सरकारबीचको सम्पर्क (लियाजो) मन्त्रीसमेत भएकाले उनले दिएको गैरजिम्मेवार अभिव्यक्तिका लागि राष्ट्रिय सभाको बैठकमै उपस्थित भई सार्वजनिक माफी माग्न लगाउन सभाध्यक्षसँग रुलिङको मागसमेत गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *