आज कुशे औंसी र बुबाको मुख हेर्ने पर्व, घर-घरमा कुश भित्र्याइँदै
काठमाडौं। वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर कुशे औँसी पर्व मनाउँदैछन्। हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन यो पर्व मनाउने परम्परा रहेको छ।
शास्त्रीय विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश सोही दिनका लागि मात्र उपयोगी मानिन्छ। सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ।
पितृसम्मान र बुबाको मुख हेर्ने दिन
आजको दिनलाई ‘पितृसम्मान दिवस’ का रूपमा पनि मनाइन्छ। यस अवसरमा छोराछोरीहरूले आफ्ना बाबुलाई मनपर्ने मीठा-मीठा परिकार र भोजन खुवाएर आदर-सम्मान प्रकट गर्दै बुबाको मुख हेर्ने गर्छन्।
त्यस्तै, बाबु गुमाइसकेकाहरूले भने विभिन्न पवित्र तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दान गर्ने गर्दछन्। आजका दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने धार्मिक मान्यता छ।
गोकर्णेश्वर र वेत्रावतीमा मेलाको तयारी
उत्तरगयाका रूपमा चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज दिवङ्गत बाबुको नाममा तर्पण र पिण्डदान गर्नेहरूको ठूलो घुइँचो लाग्ने गर्छ। यसैकारण यस औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ। गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष एवं मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
उता रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि तर्पण र पिण्डदानका लागि श्रद्धालुहरूको भिड लाग्ने गर्दछ। तर, यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेलाको स्थिति भने अनिश्चित बनेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment