ट्रम्पको ५,००० डलरको आश्वासन हताशाको संकेत हो?
डलास /अमेरिका। हामी सबैलाई थाहा छ कि डोनाल्ड ट्रम्प राजनीतिक प्रचारका सामान्य नियमहरू पालना गर्न आवश्यक ठानेनन्।
उनका आफ्नै गैर-परम्परागत मापदण्ड अनुसार पनि, यदि रिपब्लिकनहरूले मध्यावधि चुनाव जिते भने प्रत्येक अमेरिकी नागरिकलाई ५,००० डलर (३,७०० पाउण्ड) दिने उनको ठूलो आश्वासन अनौठो थियो।
यो विशाल नगद आश्वासन बुधबार रिपब्लिकन महाधिवेशनको पहिलो रातमा उनको प्रमुख सम्बोधनको मुख्य शीर्षक (हेडलाइन) थिएन।
उनले आफ्नो लामो भाषणको करिब एक घण्टापछि-जब श्रोताहरूको ध्यान घट्न थालेको थियो-यसको उल्लेख थपेका थिए।
राष्ट्रपतिले यो एक ट्रिलियन डलरभन्दा बढीको आश्वासनको खर्च कसरी जुटाइनेछ वा यो रकम कसरी वितरण गरिनेछ भन्नेबारे कुनै विवरण दिएनन्।
थप जानकारी माग्दा, ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै भन्यो कि “यो घोषणा राष्ट्रपति ट्रम्पले तथाकथित ‘विशेषज्ञहरू’ले गर्न सकिँदैन भनेको कुरा गरेर देखाउँछन्: उनी अमेरिकी जनताका लागि काम गर्छन् भन्ने पछिल्लो प्रमाण हो,” तर यसलाई कसरी कार्यान्वयन गरिनेछ भन्नेबारे कुनै थप विशिष्ट विवरण दिएन।
टेक्सासको डलासस्थित रिपब्लिकन महाधिवेशन हलभित्र समर्थकहरूले उत्साहजनक ताली बजाएर यो घोषणाको स्वागत गरे।
तर नोभेम्बरको चुनावमा कडा प्रतिस्पर्धामा रहेका रिपब्लिकनहरू-जसले मध्यममार्गी रिपब्लिकन र स्वतन्त्र उम्मेदवारहरू लगायत सशंकित स्विङ मतदाताहरूलाई जित्नुपर्नेछ-ठूलो संख्यामा यो कार्यक्रमबाट टाढै रहे।
र ट्रम्पका धेरै साथी रिपब्लिकनहरू स्पष्ट रूपमा आश्चर्यचकित भए। केहीले यस घोषणाको स्वागत गरे, तर ट्रम्पका बढी आलोचक रहेका रिपब्लिकनहरूले तुरुन्तै यसको निन्दा गरे।
खासगरी उनको राष्ट्रपति कालमा संघीय ऋण कसरी बढ्दै गयो भन्ने विषयमा ट्रम्पसँग पहिले पनि ठोक्किएका रूढिवादीहरू (कन्जरभेटिभ्स) ले यसको कडा आलोचना गरे।
यसै वर्षको सुरुमा ट्रम्पको आलोचना गरेका कारण प्राइमरी चुनाव हारेका केन्टकीका रिपब्लिकन प्रतिनिधि थोमस मासीले एक्समा लेखे- “मलाई अरूको थाहा छैन, तर इमानदारीपूर्वक भन्नुपर्दा आगामी नोभेम्बरमा मेरो भोट ५ हजार डलरमा किन्न सकिन्छ भन्ने विचारले म अपमानित महसुस गरिरहेको छु। यसले निम्त्याउने मुद्रास्फीतिको त कुरै छाडौँ। सबै कुरा विचार गर्दा, म मेरो विवेकले १० हजार डलरभन्दा एक पेनी पनि कम स्वीकार गर्न सक्दिनँ!”
डलास कार्यक्रमलाई छाडेर कठिन प्रतिस्पर्धा भइरहेको मेनमा पुन: निर्वाचनको प्रचारमा लागेकी सिनेटर सुसान कलिन्सले भनिन्: “कर र खर्च सम्बन्धी निर्णयहरू अमेरिकी जनताको आवश्यकता र अर्थतन्त्रको स्थितिमा आधारित हुनुपर्छ, ती चुनावी परिणामहरूसँग जोडिएका जस्ता देखिनु हुँदैन।”
डेमोक्रेटहरूले भने यसलाई फोक्रो आश्वासनको संज्ञा दिएका छन्।
कानुनी विज्ञहरूका अनुसार ट्रम्पले राष्ट्रपतीय कार्यकारी आदेशमार्फत यति ठूलो रकम स्वीकृत गर्न सक्ने सम्भावना कम छ-तर राष्ट्रपतिले बिहीबार आफू कंग्रेस (संसद्) मा नजाने संकेत गरे।
बीबीसीको अमेरिकी साझेदार सँग कुरा गर्दै उनले यो खर्च स्वीकृत गर्न कंग्रेसको आवश्यकता पर्छ जस्तो आफूलाई नलागेको बताए र थपे: “यदि हामीलाई आवश्यक परेमा उनीहरूले यो गर्नेछन् भन्ने मलाई लाग्छ।”
तर धेरै वित्तीय रूपमा रूढिवादी रिपब्लिकन प्रतिनिधिहरूले सम्भवतः यस प्रकारको खर्चलाई समर्थन गर्न अस्वीकार गर्नेछन्।
पूर्व रिपब्लिकन प्रतिनिधि बब गुडले “ट्रम्प लाभांश” लाई “समाजवादी भोट किन्ने योजना” भन्दै खारेज गरे।
यो महाधिवेशनले ट्रम्पको अझै पनि पार्टीमा वर्चस्व छ भन्ने सम्झना गराएको छ, र कम्तीमा हाउस अफ रिप्रिजेटेटिभ्समा उनले पहिले पनि परम्परागत रूढिवादी विचारसँग नमिल्ने नीतिहरूमा उनीहरूलाई झुकाएका छन्।
राष्ट्रपति ट्रम्पले मतदाताहरूलाई नगदको आश्वासन दिएको यो पहिलो पटक भने होइन। अमेरिकीहरू अझै पनि उनको व्यापार महशुलबाट प्राप्त हुने राजस्वबाट प्रतिव्यक्ति २,००० डलरको चेक पाउने पर्खाइमा छन्। र एलोन मस्कले DOGE को खर्च कटौतीबाट आउने भनेको ५,००० डलरको भुक्तानी कहिल्यै साकार भएन।
यद्यपि, ट्रम्पले आफ्नो कार्यकालमा जन्मिएका बालबालिकाहरूका लागि १,००० डलरको सरकारी योगदानसहित ‘ट्रम्प सेभिङ एकाउन्ट’ स्थापना गर्ने आश्वासन भने पूरा गरेका छन्। र अमेरिकी सेनाका सबै सदस्यहरूले अमेरिकाको २५० औँ वार्षिकोत्सव मनाउन १,७७६ डलरको भुक्तानी पाएका थिए।
के यो डोनाल्ड ट्रम्प नोभेम्बरमा ठूलो हारको दिशामा अघि बढिरहेका छन् भन्ने डरको संकेत हो, जसले गर्दा उनले यस्तो ध्यान खिच्ने खालको चुनावी आश्वासन दिनुपरेको महसुस गरे?
राष्ट्रपति आफैँ ब्यालटमा नभए तापनि, मतदाताहरूले प्रायः मध्यावधि चुनावलाई बहालवाला राष्ट्रपतिमाथिको जनमतसंग्रहको रूपमा लिन्छन्र- प्रायः सत्तामा रहेको पार्टीले संघर्ष गर्नुपर्छ।
र चुनाव हुन दुई महिनाभन्दा कम समय बाँकी छँदा, ट्रम्पले ऐतिहासिक रूपमा कम स्वीकृति दर (Low approval ratings) को सामना गरिरहेका छन्।
इरानसँगको उनको युद्ध बढ्दो रूपमा अप्रिय बन्दै गएको छ, र यसको असरले अमेरिकीहरूलाई पेट्रोल पम्पमा मार पारिरहेको छ। महँगी अझै पनि मतदाताहरूका लागि मुख्य मुद्दा हो, र जो बाइडेनको पालामा कोभिड-पश्चातको उच्च विन्दुबाट मुद्रास्फीति घटेको भए पनि यो अझै पनि जिद्दी रूपमा उच्च छ।
त्यसैले, के यो आश्वासनले हताशाको संकेत गर्छ, कि उनले आफ्ना धेरै नजिकका सहयोगीहरूलाई समेत नबताई यो नीति गोजीबाट बाहिर निकाले?
ठूलो चुनावी आश्वासन सुरु गर्ने यो निस्सन्देह एक अत्यन्त गैर-परम्परागत तरिका हो।
तर ट्रम्पको राजनीतिक सफलता काम गर्ने उनको यही नियम-तोड्ने शैलीमा बनेको छ।
उनको यो पछिल्लो दाउले काम गर्न सक्छ-तर केवल तब मात्र, जब मतदाताहरूले विश्वास गर्छन् कि उनी उनीहरूलाई चेक काट्न गम्भीर छन्।
No ads found for this position



Facebook Comment