माणिक लामा जीवन यात्रा स्मृति ग्रन्थ लोकापर्णण

डिसी नेपाल
२६ भदौ २०८३ १९:३१

काठमाडौं। कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, गोकुल बाँस्कोटा, योगेश भट्टराई, पम्फा भुसालसहित राजनीतिज्ञ तथा विभिन्न क्षेत्रमा योगदान दिएको व्यक्तिहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ लोकार्पण गरिएको हो।

२०१६ असार १९ गते काभ्रेको मादनकुँडारीमा जन्मिएका माणिक लामा २०८२ भदौ १३ गते उपचारका क्रममा भारतमा निधन भएको थियो। नेपालका कम्युनिष्ट आन्दोलनमा उनले पुर्‍याएको योगदान अविष्मरणीय र अनुकरणीय रहेको कार्यक्रमका वक्ताहरुले चर्चा गरे।

सामाजिक, राजनीतिक, कूटनीतिक, विकासप्रेमी र क्रान्तिकारी व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका लामाले सामाजिक रुपान्तरण, राजनीतिक चेतनाको विकासमा दिएको योगदानको चर्चा ‘माणिक लामा जीवन यात्रा’ स्मृति ग्रन्थमा समेटिएको छ।

माणिक लामा प्रतिष्ठानले सार्वजनिक गरेको उक्त स्मृतिग्रन्थमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनालले आ–आफ्नो शुभकामना सन्देशमा माणिक लामाले समाज र राजनीतिक क्षेत्रको गरेको कार्यको प्रशंसा गरिएको छ। जुन अनुकरणीय र अनुशरणीय रहेको उनीहरुले उल्लेख गरेका छन्।

राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले पनि लामाले कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गर्दै लामाको विचार र नीतिलाई अनुशरण गर्न सकेमा उनीप्रति न्याय ठहरिने बताए।

माणिक लामा एमाले नेतृ नविना लामाका पिता हुन्। उनले पनि आफ्नो पिताको राजनीतिक संघर्ष र योगदानको बारेमा स्मृति ग्रन्थमा चर्चा गरेकी छन्।

को माणिक लामा ?

माणिक लामाले २०३७ सालमा कम्युनिस्ट आन्दोलनमा औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरे राजनीतिक जीवनलाई अगाडि बढाएका थिए। उनलाई तत्कालीन नेकपा (चौथो महाधिवेशन) का स्थानीय नेता श्याम श्रेष्ठको नेतृत्वमा चौंरीदेउराली क्षेत्रको सुरक्षा सचिवको जिम्मेवारी दिइएको थियो। त्यही समयदेखि उनले गाउँ–गाउँमा सङ्गठन विस्तार, जनचेतना अभिवृद्धि तथा वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने अभियानमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेका थिए।

राजनीतिक यात्राका क्रममा उनले अनेकौँ दुःख, सङ्घर्ष र कठिनाइहरू भोग्दै विभिन्न समयमा रामेछाप, दोलखा, सिन्धुपाल्चोकको चौतारा तथा केन्द्रीय जेलमा गरी करिब चार वर्ष जेलजीवन बिताए।

जेलजीवनकै क्रममा उनको केन्द्रीय जेलमा केपी शर्मा ओलीसँग भेट भयो। त्यस भेटले उनको राजनीतिक दृष्टिकोण अझ परिपक्व बनाएको ग्रन्थमा उल्लेख गरिएको छ।
२०४८ सालको आमनिर्वाचनमा काभ्रे जिल्लामा कमानसिंह लामालगायत वामपन्थी उम्मेदवारहरूलाई विजयी बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सङ्गठन निर्माण, कार्यकर्ता प्रशिक्षण र जनसम्पर्कका माध्यमबाट उनी काभ्रेका स्थापित वामपन्थी नेताको रुपमा आफूलाई परिचित गराउन सफल भएका थिए।

पार्टीभित्रको मूल्याङ्कन, अवसर वितरण र आन्तरिक विभेदका कारण उनले बाध्य भएर क्षेत्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएको माणिककी छोरी नविना बताउँछिन्। व्यापक जनसमर्थन हुँदाहुँदै पनि उनी अत्यन्तै झिनो मतान्तरले पराजित भए।

त्यसपछि आफ्नो सङ्घर्षको उचित सम्मान नभएको महसुस गर्दै माणिक लामा नेकपा (एमाले) को मूलधारमा प्रवेश गरे। एमालेमा प्रवेशपछि उनी निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका थिए।

उनले सत्रगाउँ, कात्तिके देउराली, भिर देउराली, तुसेनी शिवालय, बाँसखर्कलगायत क्षेत्रमा एमालेको बलियो सङ्गठन निर्माण गरेको एमाले नेताहरु बताउँछन्।

विद्यादेवी भण्डारीलाई कोसीपारिको क्षेत्रमा सङ्गठन विस्तार तथा राजनीतिक अभियान सञ्चालन गर्न सहयोग पुरÞ्याउने कार्यमा पनि उनको महत्वपूर्ण भूमिका रहेको थियो। उनको सम्बन्ध झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रूपनारायण श्रेष्ठलगायत नेताहरूसँग निकट रह्यो।

महाकाली सन्धिका विषयमा उत्पन्न वैचारिक मतभेदपछि उनी एमाले छोडेर नेकपा (माले) तर्फ लागे। त्यसपछि राष्ट्रियता, परिवर्तन र जनपक्षीय राजनीतिलाई केन्द्रमा राख्दै नेकपा (माओवादी) मा प्रवेश गरे। माओवादीमा रहँदा जिल्ला सदस्य तथा ताम्सालिङ मोर्चाको नेतृत्व गर्दै संविधानसभा निर्वाचनमा – पार्टीलाई जिताउन उल्लेखनीय योगदान दिएको माओवादी नेताहरु सम्झन्छन्।

पार्टी विभाजनपछि उनले २०७९ सालमा मोहन वैद्य ‘किरण’ र २०७१ सालदेखि २०७७ सालसम्म विप्लव नेतृत्वको धारमा काम गरे। अन्ततः उनले आफ्नै राजनीतिक विचार र लक्ष्यलाई अघि बढाउने उद्देश्यले आफ्नै राजनीतिक दल नेकपा (एकीकृत माओवादी) गठन गरे र महासचिवको जिम्मेवारी सम्हालेका थिए।

उनले आफ्नो नेतृत्वमा सङ्गठन विस्तार गर्दै राजनीतिक तथा वैचारिक अभियानलाई निरन्तर अघि बढाए। राष्ट्रियता, सामाजिक न्याय र परिवर्तनका पक्षमा उनी अन्तिम समयसम्म अडिग रहेको नेताहरु स्मरण गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *