विद्यार्थी आन्दोलनबाट चर्चित बनेकी रियाको बिग बोसमा बेइज्जत

डिसी नेपाल
२२ भदौ २०८३ १२:०८

काठमाडौं । भारतको ‘नीट’ परीक्षासम्बन्धी आन्दोलनले धेरै ‘इन्फ्लुएन्सर’ हरूलाई रातारात चर्चित बनाइदियो। तिनैमध्येकी एक इन्फ्लुएन्सर तथा अभिनेत्री हुन्- रिया अहिर। मुम्बईको शिवाजी पार्कमा भएको विद्यार्थी प्रदर्शनका क्रममा रिया प्रहरीको गाडी रोक्न एक्लै भ्यानको अगाडि उभिएकी थिइन्।

विद्यार्थीहरूले भरिएको प्रहरीको गाडी रोक्दै गर्दाका उनका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले उनको साहसको प्रशंसा गरेका थिए। तर चर्चित रियालिटी शो ‘बिग बोस’ को मञ्चमा भने उनले अपमानको सामना गर्नु परेको छ।

नीट आन्दोलनबाट चर्चामा आएकी रिया अहिरले ‘बिग बोस २०’ मा जाने अवसर पाएकी थिइन्। तर आयोजकहरूले शोमा उनको प्रवेशको निर्णय दर्शकको हातमा छाडिदिएका थिए। रिया अहिरको प्रतिस्पर्धामा पञ्जाबी अभिनेत्री लभ गिल थिइन्। दर्शकहरूले आफ्ना मनपर्ने उम्मेदवार रिया वा लभ गिलमध्ये कुनै एकलाई शोमा पठाउनका लागि भोट गर्नुपर्ने थियो।

जनमत (पब्लिक भोटिङ) मा लभ गिल विजयी भइन् र बढी भोट प्राप्त गरेका कारण उनले सलमान खानको शोमा प्रवेश गर्ने मौका पाइन्। अर्कातिर रिया भने निराश हुँदै मञ्चबाटै घर फर्किन बाध्य भइन्।

तर दर्शकको फैसला आउनुअघि नै रिया अहिर र लभ गिलबीच मञ्चमै अभिनेता सलमान खानकै सामुन्ने चर्को भनाभन भएको थियो। रिया र लभ गिलले एक-अर्कालाई अपमान गर्ने कुनै कसर बाँकी राखेनन्।

रियाले लभलाई भनिन्, “तपाईंले एउटा कुरा भन्नुभएको थियो कि यदि बस रोक्ने हिम्मत राख्छ्यौ भने… म भनिदिऊँ कि त्यो बस होइन, भ्यान थियो।” लभले फर्काएर जवाफ दिइन्, “यदि त्यो चालकले गाडी नरोकेको भए सायद उनी आज यहाँ हुन्नथिन्।”

रियाले पुनः जवाफ दिँदै भनिन्, “मेरो जीवनको उद्देश्य त्यहीँ पूरा हुन्थ्यो।” तर लभले व्यङ्ग्य गर्दै भनिन्, “मलाई लाग्छ त्यसो भए तपाईंको काम बाहिरै छ, यहाँ भित्र सबैले आफ्ना हकका लागि आफैँ लड्न सक्छन्।”

रिया अहिर र लभ गिलबीच मञ्चमै तीव्र भनाभन भइरहँदा सलमान खान भने शान्त रहेर दुवैको झगडा हेरिरहे। सलमानले दुवैमध्ये कसैको पनि पक्ष लिएनन्। उनी तटस्थ बसेर दृश्य मात्र हेरिरहे। अन्ततः सर्वसाधारणको आवाज बनेको दाबी गर्ने रियाले जनताबाटै पर्याप्त समर्थन पाउन सकिनन् र २ मिनेटभित्रै उनी शोबाट बाहिरिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *