फिल्म ‘अक्षरा’ले पायो ‘युनिभर्सल’ प्रमाणपत्र, भदौ २६ गतेदेखि प्रदर्शनमा आउने

डिसी नेपाल
२३ भदौ २०८३ ११:४९

काठमाडौं। आगामी भदौ २६ गते शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘युनिभर्सल’ (यू) प्रमाणपत्र प्राप्त गरेको छ।

बोर्डबाट व्यावसायिक प्रदर्शनका लागि अनुमति र युनिभर्सल सर्टिफिकेट पाएसँगै अब सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउने भएका छन्।

विनयराज पौडेलको निर्देशनमा बनेको २ घण्टा १४ मिनेट लम्बाइको यस फिल्मले सेन्सर बोर्डबाट स्वीकृति पाएसँगै निर्माण पक्ष उत्साही बनेको छ। अभिभावकले छोरीको इच्छाविपरीत धनी र खान्दानी परिवारमा जबरजस्ती विवाह गराइदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा फिल्म निर्माण गरिएको छ।

फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा रहेका छन्। उनीहरूका साथमा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय देख्न पाइनेछ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बनेको यस फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले निर्माणमा लगानी गरेका छन्।

कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। निर्माता उग्रसेन स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन्।

दिपेन बस्न्यातको छायांकन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्।

सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको सङ्गीत रहेका गीतहरूमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको छ। नेसनल सिने ग्रुप नेपालका दीपक दंगालले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *