कोरलानाकाबाट १५ दिनमै पौने २ अर्ब राजस्व संकलन, दैनिक उपभोग्य सामान र इभीको आयात बढ्यो
मुस्ताङ। नेपाल-चीन सीमावर्ती उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनको अवधिमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
रसुवागढी-केरुङ र तातोपानी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको पैठारी ह्वात्तै बढेको हो। भन्सार प्रमुख विदुर चुडालका अनुसार शुक्रबार मात्रै एकै दिन २७ करोड ११ लाख रुपैयाँ राजस्व उठेको छ। भदौ २२ गतेयता नाकाबाट दैनिक औसत ३० करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन भइरहेको उनले बताए।
शुक्रबार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारी साधन (इभी) को भन्सार जाँचपास गरिएको छ। गत भदौ १० देखि २५ गतेसम्मको अवधिमा कोरलानाका हुँदै ४३४ वटा कन्टेनर र ६४१ वटा इभी भन्सार जाँचपास भएर भित्रिएका छन्। यससँगै चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ सम्म कोरलानाकाबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ।
वि.सं. २०८० असोज अघिसम्म उपल्लो मुस्ताङका स्थानीयका लागि मात्र खुला गरिएको कोरलानाकालाई नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि व्यावसायिक वैकल्पिक निकासी-पैठारी नाकाका रूपमा पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो। गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सारले कुल ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment