भोटेकोशी बाढी: तीन जिल्लाका १८ विद्यालयमा क्षति, पुनरुत्थानका लागि सवा चार अर्ब बढी लाग्ने
काठमाडाैं। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा तयार पारिएको द्रुत क्षति र मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार बाढीबाट ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख रूपैयाँ बराबरको भौतिक तथा शैक्षिक सम्पत्तिको हानि भएको छ।
प्रतिवेदन अनुसार प्रभावित १८ विद्यालयका कुल ५६ वटा भवनमा क्षति पुगेको छ, जसअन्तर्गत १५२ वटा कोठामा आंशिक र १५६ वटा कोठामा पूर्ण रूपमा क्षति पुगेको छ।
स्थानीय तहगत विवरण अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालयका दुई भवनका ११ कोठा पूर्ण रूपमा भत्किँदा ३ करोड ७५ लाख रूपैयाँको क्षति भएको छ।
रसुवाकै उत्तरगया गाउँपालिकामा तीन विद्यालयका ६ भवनका ३६ कोठा पूर्ण रूपमा क्षति भई १२ करोड २९ लाख रूपैयाँ बराबरको हानि भएको छ।
सबैभन्दा बढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाका नौ वटा विद्यालयका ३२ भवनमा क्षति पुगेको छ। त्यहाँ ६१ कोठा आंशिक र ८९ कोठा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ३६ करोड ६२ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
धादिङको गल्छी गाउँपालिकामा तीन विद्यालयका १० भवनका ७७ कोठा आंशिक र आठ कोठा पूर्ण क्षति भई १० करोड ६१ लाख रूपैयाँ, बेनिघाट रोराङ गाउँपालिकामा एक विद्यालयका दुई भवनका १२ कोठा पूर्ण क्षति भई ४ करोड १० लाख रूपैयाँ र सिद्धलेक गाउँपालिकामा एक विद्यालयका चार भवनका १४ कोठामा आंशिक क्षति पुग्दा १ करोड ४३ लाख रूपैयाँ बराबरको नोक्सानी भएको छ।
बाढीका कारण विद्यालयका २४ करोड ९३ लाख रूपैयाँ बराबरका शैक्षिक सम्पत्ति नष्ट भएका छन्। प्रतिवेदनले क्षति पुगेका सम्पूर्ण विद्यालय क्षेत्रको पुनःनिर्माण तथा पुनरुत्थानका लागि कुल ४ अर्ब २३ करोड ३५ लाख रूपैयाँ बजेट लाग्ने आकलन गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment