प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

डिसी नेपाल
२८ भदौ २०८३ १३:२२

काठमाडौं। पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि देखिएको विवाद सुल्झाएर सर्वसम्मत दस्ताबेज बनाउन नेकपा (एमाले) का नेताहरू काभ्रेपलाञ्चोकको पनौतीमा आवासीय बैठकमा व्यस्त बनेका छन्।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुधारका लागि सुझाव दिन गठित १५ सदस्यीय कार्यदलका पदाधिकारीहरू सहमति खोज्ने प्रयासमा छन्।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार शनिबारदेखि सुरु भएको यो आवासीय छलफल सकेर नेताहरू आइतबार काठमाडौँ फर्कने कार्यक्रम छ।

शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्य-सचिव एवं महासचिव शंकर पोखरेलका तर्फबाट दुई फरक-फरक प्रतिवेदन प्रस्तुत भएपछि विवाद सतहमा आएको थियो।

महासचिव पोखरेलले तयार पारेको १२१ पृष्टको मस्यौदा प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउनुपर्ने र नेतृत्व हस्तान्तरणको प्रस्ताव गरिएको छ।

तर, त्यसको काउन्टरमा संयोजक थापाले २५ बुँदे (३९ पृष्ठ) फरक प्रतिवेदन पेस गर्दै महाधिवेशनबाट ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयास व्यर्थ हुने र एउटा निर्वाचनको परिणामलाई आधार बनाएर नेतृत्व फेर्ने कुरा वैधानिक नहुने तर्क अघि सारेका छन्।

गत जेठ १० गतेको एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा यो कार्यदल गठन गरेको थियो। असार २५ को बैठकले दुवै नेतालाई प्राप्त सुझावका आधारमा प्रतिवेदन लेख्ने जिम्मेवारी दिए पनि मतभेद कायमै रहेपछि अहिले दुवै प्रतिवेदनका विषयवस्तु समेटेर एउटै संयुक्त प्रतिवेदन तयार पार्ने कसरत भइरहेको छ।

भोटेकोशीको विनाशकारी बाढीपछिको अवस्था र विकसित राजनीतिक परिस्थितिका माझ एमाले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५, ६ र ७ गतेका लागि तय भइसकेकाले, त्यसअघि नै सचिवालयमा पेस गर्ने गरी प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *