कांग्रेस १५औं महाधिवेशन असोज १६ देखि काठमाडौंमा: उत्साहपूर्वक सहभागी हुन महामन्त्री पौडेलको आह्वान
काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक र शुभेच्छुकलाई आह्वान गरेका छन्।
ललितपुरमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले महाधिवेशनलाई कांग्रेसको साङ्गठनिक र राजनीतिक जीवनको महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो।
बैठकले महाधिवेशनमा भाग लिने क्रियाशील सदस्यहरूको आधिकारिक नामावली स्वीकृत गरेको छ। कोही पनि क्रियाशील सदस्य प्रक्रियाबाट नछुटून् भन्ने उद्देश्यले पटकपटक समयावधि थप गरी वडा अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको महामन्त्री पौडेलले स्पष्ट पारे।
उनका अनुसार विशेष महाधिवेशनमा छुटेका धेरै सदस्यहरू अहिले टोलदेखि केन्द्रसम्मका अधिवेशनमा सक्रिय रूपमा सहभागी भइरहेका छन् र पार्टीले उनीहरूको भूमिकाको उच्च सम्मान गरेको छ।
कांग्रेसले महाधिवेशनलाई भव्य महाउत्सवका रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ। पार्टीभित्र देखिएका जुनसुकै असहमति र चासोलाई संवाद तथा सहमतिबाट सम्बोधन गर्न केन्द्रीय कार्यसमिति निरन्तर लागिपरेको छ।
महाधिवेशन नै धारणा राख्ने र समस्याको समाधान खोज्ने सर्वोच्च निकाय भएकाले सबैका लागि सहज र समावेशी वातावरण बनाउन पार्टी प्रतिबद्ध रहेको बैठकले ठहर गरेको छ। सदस्यता वितरण, नवीकरण र अद्यावधिकमा सहयोग गर्ने सबैलाई कांग्रेसले धन्यवाद ज्ञापन गरेको छ।
यसैबीच, बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिनुभएको राजीनामाका सम्बन्धमा पार्टी सभापति थापाले औपचारिक जानकारी गराएका थिए।
बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला सङ्ग्रौला पन्त, योगेन्द्र चौधरीका साथै केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा. चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुङ्गाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले महाधिवेशन तयारीका विषयमा आ-आफ्ना धारणा राखेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment