बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन्।
राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार तथा सञ्चारजगत्प्रति उनले हार्दिक सम्मान प्रकट गरेका छन्।
यस वर्ष ‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ। यस नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।
नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई अनुमोदन गरी भेदभावरहित, सर्वोत्तम हित, जीवन-बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ।
ती मूल्य-मान्यतालाई नेपालको संविधानको धारा ३९, राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक हक तथा कानुनी अधिकारका रूपमा सुनिश्चित गरेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ।
अबको मुख्य प्राथमिकता संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु रहेको उनको भनाइ छ।
यसका लागि संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ।
संघले राष्ट्रिय नीति र कानुनी आधार सुदृढ बनाउने, प्रदेशले सेवा विस्तार गर्ने र स्थानीय तहले नजिकको सरकारका रूपमा जोखिम पहिचान तथा बालमैत्री वातावरण निर्माण गर्ने गरी तीनै तहका प्रयासलाई परिणाममुखी दिशामा जोड्न आवश्यक रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment