बाढीले रसुवागढी नाका ठप्प भएपछि तातोपानी र हिल्साबाट सुरु भयो यात्रुको आउजाउ

डिसी नेपाल
२९ भदौ २०८३ २२:४०

काठमाडौं । गत भाद्र १० गते आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालय लगायतका पूर्वाधारमा क्षति पुगेपछि चीनसँगको यात्रु आवागमनका लागि तातोपानी र हिल्सा नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालिएको छ।

रसुवागढी नाका बन्द भएपछि विशेष गरी चीनको तिब्बत, कैलाश–मानसरोवर यात्रा तथा अन्य भ्रमणमा गएका र त्यसतर्फ जाने यात्रुहरूले सिन्धुपाल्चोकको कोदारी (तातोपानी) र हुम्लाको हिल्सा नाका प्रयोग गरिरहेको अध्यागमन विभागले जनाएको छ।

अध्यागमन विभागका अनुसार रसुवागढी नाका अवरुद्ध भएको मिति २०८३ भाद्र १० देखि भाद्र २९ गतेसम्मको २० दिनको अवधिमा तातोपानी नाका हुँदै ३ हजार ९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन्। नेपाल भित्रिनेमा १ हजार ७३३ जना महिला रहेका छन्।

सोही अवधिमा ३९१ जना यात्रु तातोपानी नाका भई चीनतर्फ प्रस्थान गरेका छन्। यसैगरी, सोही अवधिमा हुम्लाको हिल्सा नाका हुँदै ३८७ जना यात्रु नेपाल भित्रिएका छन्।

नेपाल प्रवेश गर्नेहरूमध्ये १६५ जना पहिले रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेका छन्। उक्त अवधिमा हिल्सा नाका भएर १७८ जना यात्रु चीनतर्फ गएका छन्। यी दुवै वैकल्पिक नाका प्रयोग गरी आउजाउ गर्ने विदेशी पर्यटकहरूमा सबैभन्दा बढी भारत, ब्रिटेन (बेलायत) र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेको अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन्।

अध्यागमन विभागले यात्रुहरूको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउन सम्बद्ध निकायहरूसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *