यातायात क्षेत्रमा क्षतिको आधारमा सहयोग गरिन्छ : मन्त्री लम्साल

डिसी नेपाल
२९ भदौ २०८३ २२:५७

काठमाडौं। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोसी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर, चालक र मजदुरको अवस्थाबारे सरकारलाई जानकारी गराएको छ।

महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ नेतृत्वको टोलीले आज पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी क्षतिको विवरण उपलब्ध गराएको हो। भेटमा महासङ्घले बाढीबाट यातायात व्यवसायी तथा मजदुरमा परेको मानवीय र भौतिक क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको थियो।

यही भदौ १० गतेको भोटेकोशी बाढीमा परेर ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी गराउँदै महासङ्घले बाढीपछि विभिन्न निकायसँग समन्वय गरी हराएका सवारीसाधन तथा चालक र मजदुरको विवरण सङ्कलन गरेको जनाएको छ।

बाढीबाट भएको क्षतिको मूल्याङ्कन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा रायसहितको प्रतिवेदन तयार गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।

यातायात क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन तथा कानुनमा आवश्यक परिमार्जन गरी समस्या समाधानका लागि सिफारिस गर्न पूर्वाधार विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। उक्त समितिले ४५ दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्नेछ।

सो अवसरमा महासङ्घले भोटेकोशी बाढीपीडितका लागि रु १० लाख ११ हजार १११ बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा हस्तान्तरण गर्ने जानकारी गराएको थियो।

मन्त्री लम्सालले महासङ्घ र सदस्य संस्थाले बाढीपीडितका लागि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यातायात क्षेत्रमा भएको क्षतिको यथार्थ विवरणका आधारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *