कांग्रेस नेता-कार्यकर्ताको आत्मसम्मान पदको सौदाबाजीको विषय हुन सक्दैन: डा. शशांक कोइराला

डिसी नेपाल
२९ भदौ २०८३ १६:४६

काठमाडौं। नेपाली कांग्रेसका १४औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताहरूको आत्मसम्मान कुनै पनि पदको सौदाबाजीको विषय बन्न नसक्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले विशेष महाधिवेशन पक्षधर (संस्थापन पक्ष) ले पार्टीको अधिवेशन तथा महाधिवेशनको कार्यतालिका स्थगित नगरी वा सर्वोच्च अदालतको निर्णय पर्खाइ नगरी एकतर्फी रूपमा प्रक्रिया अगाडि बढाउनु कुनै पनि हालतमा उचित नभएको स्पष्ट पारे।

“पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषित कार्यतालिका स्थगित गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिँदैन,” उनले भने।

पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य-मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै सहमति, सहकार्य र एकताका आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न आफूहरूले निरन्तर प्रयास गरेको उनले बताए।

“पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो। तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन,” उनले भने।

निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने उनको भनाइ थियो।

विशेष महाधिवेशनका नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतामा क्षति नपुर्‍याउन गरिएका आग्रहहरूलाई संस्थापन पक्षले बेवास्ता गरेको उनले बताए।

कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुको साटो विभाजनलाई संस्थागत गर्ने खतरा रहेको भन्दै उनले कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नुपर्नेमा जोड दिए।

सो क्रममा नेता कोइरालाले सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन अपिल गर्दै असोज ३ गतेदेखि विधि-प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशनमा भाग नलिन आग्रह गरे।

“१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मङ्सिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण कांग्रेसजनमा हार्दिक अनुरोध गर्दछु,” उनले भने।

नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उनले विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सकिने बताए।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास र जनविश्वास बोकेको नेपाली कांग्रेस आज असहज परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले भने, “पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *