दर्शकले रुचाए धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’: प्रवासबाट सुखद् पुनरागमन

डिसी नेपाल
३० भदौ २०८३ १९:२८

अमेरिका। अमेरिका पुगेर कलाकारितामा पुनरागमन गरेका लोकप्रिय हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको कमेडी शृङ्खला ‘म त मर्छु कि क्या हो’ लाई दर्शकले निकै रुचाएका छन्। गत शुक्रबार २६ भदौबाट प्रसारण सुरु भएको यो शृङ्खलालाई ३ दिनमै ७ लाख हाराहारी दर्शकले हेरिसकेका छन्।

“सुरुवात सोचेभन्दा निकै उत्साहजनक देखियो,” अमेरिकी सरकारका वातावरण वैज्ञानिक तथा साहित्यकार डा. चन्द्र गिरी भन्छन्, “प्रवासमा रहेर यसरी कलाकर्म सुरु गर्नु आफैँमा प्रशंसनीय काम भएको छ।”

लामो समयपछिको प्रवासबाट भएको कमब्याक सुखद भएको कलाकार सीताराम कट्टेलले बताए। उनी भन्छन्, “लामै ग्यापपछि नयाँ सिरियल लिएर आउँदा पहिलो एपिसोडमा दर्शक तथा शुभेच्छुकबाट प्राप्त प्रतिक्रियाले हामीलाई एकदमै उत्साहित बनाएको छ। विदेशमा रहेर सिरियल बनाउन कम चुनौतीपूर्ण छैन, तर सक्दो राम्रो बनाउने प्रयास गर्नेछौँ।” नेपालबाहिर रहेर निर्माण गरिएको सम्भवतः यो नै पहिलो हास्य शृङ्खला हो।

अधिकांश दर्शक तथा सर्वसाधारणले धुर्मुस-सुन्तलीले देशबाहिरैबाट भए पनि अभिनयकलालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरेका छन्। कहलिएका लोकगायक प्रेमराजा महत भन्छन्, “प्रवासमा बसेर नियमित रूपमा कलामार्फत विश्वभरका नेपालीभाषीमाझ आउनु चानचुने कुरा होइन।”

नर्थ क्यारोलिनाका नेपालीहरूको संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसीएनसी) का पूर्वअध्यक्ष तथा राले क्षेत्रका चर्चित व्यवसायी रविन कार्की नर्थ क्यारोलिनाबाट नेपाली सिरियल निर्माण भई विश्वभरका नेपाली दर्शकमाझ पुग्नु गौरवको विषय भएको बताउँछन्।

उनी भन्छन्, “यो अत्यन्तै खुसी र गर्वको कुरा हो। प्रवासमा रहेर नेपाली कला, संस्कृति र मनोरञ्जनलाई निरन्तरता दिने यस्ता प्रयासमा विदेशमा रहेका सम्पूर्ण नेपालीको साथ, सहयोग र हौसला आवश्यक छ।”

धुर्मुस सुन्तली मिडियाले निर्माण गरेको यो सिरियल हरेक साताको शुक्रबार नेपाली समय अनुसार साँझ ८:१५ बजे र अमेरिकामा भने शुक्रबार बिहान १०:३० बजे प्रसारण हुने निश्चित भएको छ। यो शृङ्खला ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलमार्फत प्रसारण गर्न सुरु गरिएको हो।

अमेरिकाको नर्थ क्यारोलिना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलमा दिनेश कार्की, शङ्करराज वाग्ले, संयम लामिछाने, मनिका चौलागाईँ, चुडा धिमाल, धर्म भारती, सुभद्रा आचार्य लगायतका कलाकारको अभिनय देख्न सकिन्छ। यही सिरियलमार्फत सीतारामले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बालकलाकारका रूपमा डेब्यु गराएका छन्।

राजु केसीको छायांकन रहेको यो सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बजगाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *