भोटेकोशी बाढी : १९१ सवारीसाधनमा क्षति, ३४४ जना बेपत्ता
काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका १९१ वटा सवारीसाधनमा क्षति पुगेको छ। बाढीका कारण ती सवारीसाधनका चालक, सहचालक तथा यात्रुसहित ३४४ जना बेपत्ता भएको महासङ्घले जनाएको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीबाट देशभरका नौवटा यातायात कम्पनीअन्तर्गत रहेका बस, ट्रक, कन्टेनर, जीप, टिपर, माइक्रोबसलगायत सवारीसाधनमा क्षति पुगेको हो। क्षतिग्रस्त सवारीसाधनमा कार्यरत चालक, सहचालक र यात्रु गरी ३४४ जना अझै सम्पर्कविहीन रहेको उनले बताएका छन्।
महासङ्घका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गत १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुगेको छ। उक्त कम्पनीसँग सम्बन्धित ५० जना मजदुर बेपत्ता भएका छन्।
त्यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ वटा बसमा क्षति पुग्दा २१ जना बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुगेको छ भने दुई चालक बेपत्ता भएका छन्।
हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुगेको छ। सो कम्पनीका १० जना चालक बेपत्ता छन्। नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुगेको महासङ्घले जनाएको छ। उक्त सवारीसाधनसँग सम्बन्धित ४५ चालक बेपत्ता भएका छन्।
यसैगरी, नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ वटा ट्रक तथा कन्टेनरमा क्षति पुगेको छ। उक्त कम्पनीसँग सम्बन्धित ७० जना बेपत्ता भएको महासङ्घले जनाएको छ। नेपाल माइक्रो कम्पनीका नौवटा माइक्रोबसमा समेत बाढीबाट क्षति पुगेको छ।
पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एउटा बसमा क्षति पुगेको छ। उक्त बसका एक चालक र २२ जना यात्रु बेपत्ता छन्। त्यस्तै, धादिङ मण्डली यातायात प्रालिको एउटा बसमा क्षति पुगेको र सो बसका एक चालक तथा २५ जना तीर्थयात्री बेपत्ता भएको महासङ्घका महासचिव गौतमले बताएका छन्।
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै महासङ्घले प्रभावित व्यवसायी, चालक, सहचालक तथा यात्रुको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने जनाएको छ। बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा समेत ठूलो क्षति पुगेकाले प्रभावित क्षेत्रमा यातायात सञ्चालनमा थप चुनौती देखिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment