नेपाली कांग्रेसमा तीव्र ध्रुवीकरण: देउवा समूह रित्तिँदै, गगन थापा नेतृत्वको संस्थापन पक्ष बलियो

डिसी नेपाल
१ असोज २०८३ ९:५२

काठमाडाैं। नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद र आन्तरिक शक्ति सन्तुलनको लडाइँ नयाँ र निर्णायक मोडमा पुगेको छ।

पार्टीभित्रको बढ्दो ध्रुवीकरण, समानान्तर महाधिवेशनका आह्वान र शीर्ष नेतृत्वबीच जारी वक्तव्यबाजीले नेपाली कांग्रेसलाई अभूतपूर्व संकटको मोडमा पुर्‍याएको छ।

कहिले पार्टी आजै दुई टुक्रा हुन्छ जस्तो देखिने र कहिले अहिल्यै मिलिसक्ला जस्तो लाग्ने दोधारका बीच एकताको आशा गरिरहेका आम कार्यकर्ता तथा शुभचिन्तकहरूका मनमा चिसो पसाउने काम भइरहेको छ।

कतिपय नेताहरू व्यक्तिगत स्वार्थ, बाह्य शक्तिकेन्द्रको प्रभाव वा अपारदर्शी गतिविधिमा अल्झिएर पार्टीलाई कमजोर बनाउन उद्यत रहेको आरोप लागिरहँदा शीर्ष तहमा भने समीकरण तीव्र गतिमा फेरिन थालेको छ।

विशेष गरी पूर्वसभापति शेरबहादुर देउवाले हालै प्रकाशित गरेको सात बुँदे वक्तव्यले पार्टीभित्रको दूरीलाई झन् छताछुल्ल पारेको छ।

बाढीपीडितहरूप्रति समवेदना प्रकट गर्ने बहानामा निकालिएको सो वक्तव्यको अन्त्यमा हस्ताक्षर गर्दा सभापति उल्लेख नगरिएको भए पनि पेटबोलीका वाक्यहरूले देउवा स्वयंलाई सभापति रूपमा प्रस्तुत गरेका छन्।

 कांग्रेसले चौधौं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई समायोजन गर्ने निर्णय गरेलगत्तै गगन थापाहरूले असोजमा गर्ने भनेको महाधिवेशनमा सहभागी नहुन र आफ्नो पक्षले मंसिरमा गर्ने भनिएको महाधिवेशनमा सहभागी हुन देउवा पक्षले आह्वान गरेपछि पार्टीभित्रको द्वन्द्व झन् सतहमा आएको थियो।

तर पछिल्लो सांगठनिक फेरबदल र समायोजनको निर्णयसँगै देउवा समूह रित्तिँदै गएको र गगन थापा नेतृत्वको संस्थापन पक्ष सुदृढ हुँदै छ।

देउवा पक्षले पहिले उठाएको मागअनुसार नै विशेष महाधिवेशनअघि कायम रहेका पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान कार्यसमितिमा समायोजन गर्ने निर्णय भएपछि देउवाका पुराना विश्वासपात्र र प्रभावशाली नेताहरूले एकैसाथ कित्ता परिवर्तन गरेका छन्।

आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले देउवा नेतृत्वको तत्कालीन कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि बाहिर परेका सबैलाई केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको थियो।

तत्कालीन पदाधिकारी तथा सदस्यहरू स्वतः केन्द्रीय सदस्यमा समायोजन भए पनि महाधिवेशन प्रक्रियामा सहभागी हुन सहमत हुने नेताहरूलाई मात्रै पत्र पठाउने नीति पार्टीले तय गरेको छ।

यस निर्णयलगत्तै तत्कालीन सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को नेतृत्वमा सोमबार करिब ३५ जना प्रमुख नेताहरूले देउवाको साथ छाडेर विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा जाने निर्णय लिएका छन्।

देउवा छाडेर संस्थापनतर्फ समाहित हुनेहरूमा बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठोर, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे र मीनबहादुर विश्वकर्मा जस्ता प्रभावशाली अनुहारहरू रहेका छन्।

यसका साथै ईश्वरी न्यौपाने, उमेश श्रेष्ठ, रामहरि खतिवडा र सीता गुरुङ लगायतका नेताहरू पनि गगन थापा नेतृत्वको संस्थापन पक्षमा स्पष्ट रूपमा उभिएका छन्। यसअघि नै देउवा पक्षमा रहेका ११ जना नेताहरू केन्द्रीय कार्यसमितिमा मनोनयन भइसकेका थिए भने केही नेताहरू दुवै समूहबाट अलग रहँदै आएका थिए।

कांग्रेसको १४ औं महाधिवेशनको समीकरणलाई हेर्दा देउवा क्याम्पको विग्रह झन् प्रष्ट हुन्छ।

१४ औं महाधिवेशनमा देउवाको प्यानलबाट उपसभापति पूर्णबहादुर खड्कासहित आठ जना पदाधिकारी निर्वाचित भएका थिए।

तीमध्ये महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासीतर्फ भीष्मराज आङदेम्बे, मधेशीतर्फ महेन्द्र यादव, खस-आर्यतर्फ किशोरसिंह राठौर, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र थारू समूहबाट उमाकान्त चौधरी सहमहामन्त्री चुनिएका थिए।

तर अहिले आएर ती आठ पदाधिकारीमध्ये उमाकान्त चौधरी मात्र देउवाको पक्षमा अडिग देखिएका छन्। अन्य सबैजसो पदाधिकारीहरूले फरक-फरक चरणमा देउवाको साथ छाडिसकेका छन्।

भीष्मराज आङदेम्बेले निर्वाचनलगत्तै देउवा समूह छाडेका थिए र उनी हाल संसदीय दलको नेताका रूपमा कार्यरत छन्। किशोरसिंह राठौर गगन थापाको हस्ताक्षरबाट टिकट लिएर चुनाव लडेदेखि नै देउवा समूहमा थिएनन् भने महेन्द्र यादवले पनि निर्वाचनलगत्तै देउवाको कित्ता छाडेका थिए।

फरमुल्लाह मन्सुर स्वयम् विशेष महाधिवेशनका मुख्य अगुवामध्ये पर्दछन्। यसरी १४ औं महाधिवेशनका आफ्नै सहयात्रीहरू तितरबितर भएपछि जीवनको उत्तरार्धमा पूर्वसभापति देउवा राजनीतिक रूपमा एक्लिँदै गएका छन्।

हिजोका दिनसम्म देउवालाई दरिलो साथ दिँदै आएका नेताहरू आज संस्थापन पक्षमा समाहित हुँदा पार्टीभित्रको गणितीय र सांगठनिक पल्ला गगन थापा पक्षतिर ढल्केको छ।

समायोजित नेताहरूसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ। यो बैठकले पार्टीको वैधानिकता, आगामी महाधिवेशनको रूपरेखा र सांगठनिक संरचनालाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

देउवा समूहका बहुसंख्यक नेताहरू संस्थापन पक्षमा समाहित भइसकेको अवस्थामा बिहीबारको बैठकले आधिकारिकताको विवादलाई एउटा तार्किक निष्कर्षमा पुर्‍याउने अनुमान गरिएको छ।

दशकौंसम्म पार्टी सत्ता र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेका देउवा आफ्नै पुराना सारथिहरूबाट अलग्गिएपछि नेपाली कांग्रेसभित्र नयाँ पुस्ता र नयाँ समीकरणको वर्चस्व स्थापना हुने निश्चितप्रायः बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *