अर्थमन्त्री स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा, सीतारमण र जयशंकरसँग भेटवार्ता
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।
भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न आयाममा छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । त्यसैगरी शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग पनि अर्थमन्त्री वाग्लेको भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ ७ः३० बजे भारत व्यापार प्रवर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा उनी सहभागी हुनेछन् ।
शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।
भारत भ्रमण सम्पन्न गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्कने कार्यतालिका रहेको छ ।
भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment