विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा पिताम्बर अर्याललाई विद्यावारिधि

डिसी नेपाल
१ असोज २०८३ ८:४४

काठमाडौँ। जलवायु परिवर्तन, जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा सङ्कट प्रतिकार्यका क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय पिताम्बर अर्यालले विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

भारतको राजस्थानस्थित नेवाइमा रहेको डा. केएन मोदी विश्वविद्यालयबाट अर्यालले ‘विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)’ विषयमा हालै विद्यावारिधि उपाधि हासिल गरेका हुन् ।

अर्यालले युरोपबाट जनस्वास्थ्य, भारतबाट समाजशास्त्र तथा नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी), डेनिस रेडक्रस र क्यानेडियन रेडक्रसलगायत संस्थामा प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा एक दशकभन्दा बढी समय काम गरेका छन् ।

उनले आफ्नो व्यावसायिक जीवनको महत्वपूर्ण समय नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग तथा युवा रेडक्रस विकाससँग सम्बन्धित क्षेत्रमा नेतृत्वदायी जिम्मेवारी सम्हालेका थिए । उनले नेपाल रेडक्रस सोसाइटीको महामन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरेका छन् ।

जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आपत्कालीन प्रतिकार्य, पुनःस्थापना र सामुदायिक विकास अर्यालको व्यावसायिक दक्षता र योगदानका प्रमुख क्षेत्र हुन् ।

विपद्का कारण समाज तथा समुदायमा पर्ने सामाजिक र आर्थिक प्रभाव, त्यसको व्यवस्थापन तथा जोखिम न्यूनीकरणका उपायलाई केन्द्रमा राखेर उनले विद्यावारिधिको अध्ययन गरेका हुन् ।

अर्याल हाल नेपाल युनाइटका वरिष्ठ सल्लाहकार तथा डिपिनेटका सल्लाहकारका रूपमा कार्यरत छन् । तीन दशकभन्दा लामो व्यावसायिक अनुभवका क्रममा उनले विपद् व्यवस्थापन, जनस्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग काम गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *