चालु आर्थिक वर्षको दुई महिना: सरकारको आम्दानीभन्दा खर्च साढे नौ अर्बभन्दा बढी
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारले करिब २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल बजेट खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बराबर पुगेको छ, जुन वार्षिक लक्ष्यको ९.४१ प्रतिशत हुन आउँछ।
समीक्षा अवधिमा सरकारको खर्चको तुलनामा राजस्व आम्दानी भने कम देखिएको छ। भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको ११.५८ प्रतिशत अर्थात् १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ मात्र रहेको छ। यसरी सुरुआती दुई महिनामै सरकारको आम्दानीभन्दा खर्च करिब ९ अर्ब ७२ करोड रुपैयाँले बढी भएको कार्यालयले जनाएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु शीर्षकमा कुल १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा ९.६ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ।
त्यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म वार्षिक लक्ष्यको १.७८ प्रतिशत अर्थात् ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च हुन सकेको छ।
वित्तीय व्यवस्थातर्फ भने चालु आर्थिक वर्षका लागि ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन भएकोमा भदौ मसान्तसम्म १६.५९ प्रतिशत अर्थात् ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको छ।
राजस्व संकलनतर्फ सरकारले कर राजस्व शीर्षकमा १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा १२.२९ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ। गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब रुपैयाँको लक्ष्य राखिएकामा हालसम्म ६.९ प्रतिशत अर्थात् १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ उठेको छ।
यसैगरी, चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा ८.९६ प्रतिशत अर्थात् ५ अर्ब ५३ करोड रुपैयाँ भित्रिएको कार्यालयले बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment