भोटेकोशी बाढी: आश्रयस्थल छाडेर अस्थायी बसोबासतर्फ लाग्दै नुवाकोटका प्रभावित

डिसी नेपाल
२ असोज २०८३ ७:२२

नुवाकोट। भोटेकोशी बाढीबाट विस्थापित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका प्रभावितहरू क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित हुन थालेका छन्।

गत भदौ १० गतेको विनासकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित राख्न विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो। होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा भाडामा लिएर बस्न प्रोत्साहित गर्ने सरकारी अभियानसँगै उनीहरू निजी बसोबासमा सर्न थालेका हुन्।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ १२ गते १२ स्थानमा निर्मित होल्डिङ सेन्टरमा एक हजार २९० जनालाई राखिएको थियो।

भदौ २२ गतेसम्म आइपुग्दा आश्रयस्थलको सङ्ख्या २८ र प्रभावितको सङ्ख्या दुई हजार ६३७ पुगेको थियो। तर, पछिल्लो समय बिहीबारसम्म आइपुग्दा होल्डिङ सेन्टरको सङ्ख्या घटेर १६ मा झरेको र त्यहाँ बसोबास गर्नेको सङ्ख्या ८३२ मात्र रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

होल्डिङ सेन्टरमा लामो समय बस्दा थप असहज हुने भएकाले विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत प्याकेज घोषणा गरेको छ। नगरप्रमुख राजन श्रेष्ठका अनुसार कोठामा जाने प्रभावितलाई खाद्यान्न, भाँडाकुँडा, सरसफाइ सामग्रीलगायतका अत्यावश्यक वस्तु उपलब्ध गराउने र मासिक रु १० हजार कोठाभाडा दिने निर्णय भएको छ। सङ्घीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम रु १५ हजार दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाको रकम भने व्यवस्थित गरिँदै छ।

अर्कातिर, उपयुक्त स्थानमा कोठा नपाउने वा आफ्नै नाममा जग्गा नभएका प्रभावितका लागि सरकारले अस्थायी संरचना निर्माण गर्ने तयारी गरेको छ। सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख शशेन्द्र घिमिरेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका दुई हजार २७ विस्थापित परिवारसँग प्रश्नावली भरेर विवरण लिइएकामा करिब ३१ प्रतिशतले सरकारले बनाइदिने अस्थायी आवासमा बस्ने रुचि देखाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *