ट्रम्प किम जोङसँग वार्ता गर्न इच्छुक

डिसी नेपाल
२ असोज २०८३ १२:२०

सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग संवाद गर्न इच्छुक रहेको स्पष्ट पार्दै वासिङ्टन र प्योङयाङबीचको वार्ताका लागि सियोलले सहजीकरणको प्रयास जारी राख्ने बताएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लीले राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किम जोङ-उनसँग पुनः संवाद गर्न उत्सुक देखिएको र आफूले पनि ट्रम्पलाई वार्तामा सहभागी हुन निरन्तर आग्रह गरिरहेको जानकारी दिए।

यसै वर्षको अन्त्यसम्ममा किमसँग भेटघाट गर्ने योजना बनाएका ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनर्जाग्रत गराउन खोजिरहेका छन्।

उत्तर कोरियाको आणविक क्षमताका विषयमा ट्रम्पले प्योङयाङसँग ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको दाबी गरेका छन् भने दक्षिण कोरियाको अनुमानमा यो सङ्ख्या ८० देखि १२० सम्म रहेको छ।

पछिल्ला वर्षहरूमा रुसबाट महत्त्वपूर्ण सैन्य तथा प्राविधिक सहयोग प्राप्त गरिरहेको उत्तर कोरियाले ट्रम्पको पछिल्लो प्रस्तावप्रति हालसम्म कुनै आधिकारिक र स्पष्ट प्रतिक्रिया दिएको छैन।

वार्ताको बाटो सहज नभए पनि असम्भव नरहेको उल्लेख गर्दै राष्ट्रपति लीले सम्भावित शिखर वार्तालाई परिणाममुखी बनाउन सबै प्रयास गरिनुपर्ने बताए।

उल्लेखनीय छ, दक्षिण कोरिया र अमेरिकाले गत महिना मात्रै आफ्नो वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ संयुक्त सैन्य अभ्यासको आकार घटाएर छोटो संस्करण सञ्चालन गरेका थिए।

यसैबीच, इरानसँगको जारी युद्धमा दक्षिण कोरियाले कुनै पनि प्रकारको सैन्य हस्तक्षेप नगर्ने राष्ट्रपति लीले प्रस्ट पारेका छन्। हर्मुज जलघाँटीमा सैन्य टोली तैनाथ गर्ने चर्चा चलिरहेका बेला उनले केवल आफ्ना व्यापारिक जहाज, ऊर्जा आपूर्ति मार्ग र नागरिकको सुरक्षाका लागि आवश्यक न्यूनतम उपस्थिति मात्र रहने स्पष्ट पारे।

“हामीले सुरुदेखि नै असंलग्नता र गैर-हस्तक्षेपको सिद्धान्तलाई अङ्गीकार गर्दै आएका छौँ र आगामी दिनमा पनि यसै नीतिमा कायम रहनेछौँ,” राष्ट्रपति लीले भने।

अमेरिकाले हाल दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ भने राष्ट्रपति ट्रम्पले इरान मामिलामा दक्षिण कोरियाको सहयोग अपर्याप्त रहेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

यसैबीच, अमेरिकाद्वारा लगाइने उच्च आयात शुल्क (ट्यारिफ) बाट जोगिन दक्षिण कोरियाले अमेरिकामा ३ खर्ब ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सो लगानीसँग सम्बन्धित अन्तिम सर्त र परियोजनाका विषयमा दुई देशबीच अझै वार्ता जारी रहेको राष्ट्रपति लीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *