संविधान दिवसका अवसरमा साइकल र्‍याली

डिसी नेपाल
३ असोज २०८३ १९:००

काठमाडौं। संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्‍याली गरेको छ।

र्‍यालीमा काठमाडौं शिक्षालय ललितपुरका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी तथा स्थानीय जनसमुदाय गरी ३०० भन्दाबढी साइकलयात्री रहेका थिए। उक्त र्‍याली व्यवस्थापन गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेको थियो।

‘बाढीपीडितका लागि साइकाल र्‍याली, मानवताका लागि एकता’ भन्ने नारासहित आयोजना गरिएको साइकल र्‍यालीको सुरुआत महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गरे। उनले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताए।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेल बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्ने तथा साइक्लिङलाई केबल खेलकुद गतिविधिका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व भएको बताए। विद्यालयले भोटेकोशी बाढी प्रभावितलाई यसअघि नै ललितपुर प्याब्सनमार्फत रु ५१ हजार सहयोग गरिसकेको छ।

र्‍याली काठमाडौं शिक्षालय ललितपुर इमाडोल, ललितपुरबाट सुरु भई कृष्णमन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टीकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शङ्ख देवी मन्दिर पुगेको थियो। त्यसपछि विष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका हुँदै पुनःकाठमाडौँ शिक्षालय ललितपुरको परिसरमा फर्किएर र्‍याली समापन गरिएको थियो। दुई विधामा २० र २५ किलोमिटर दूरीको र्‍यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *