वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी
काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। जात्रालाई व्यवस्थित र भव्य बनाउनका लागि यतिवेला रथ निर्माण, सरसफाइ तथा अन्य आवश्यक तयारीका कामहरू तीव्र गतिमा भइरहेका छन्।
दरबार क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरू काष्ठमण्डप, कुमारी घर, शिव-पार्वती मन्दिरलगायतका स्थानमा रङरोगन गर्ने र पुराना रातो ध्वजा फेरेर नयाँ राख्ने कार्य भइरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक पर्ने अधिकांश तयारीहरू पूरा भइसकेका छन्।
अध्यक्ष शाक्यले भने, ‘‘इन्द्रजात्रालाई सभ्य र भव्य तरिकाले सञ्चालन गर्नका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँग ३१ वटा गुठी खलःहरू आबद्ध रहेका छन्। उहाँहरूसँग हामीले पटक-पटक बैठक बसिसकेका छौं। जात्रा अवधिभर शान्ति सुरक्षा कायम राख्नका लागि नेपाल प्रहरीका निकायहरूसँग पनि छलफल गरिसकेका छौँ। इन्द्रजात्रा हाम्रो राष्ट्रिय पर्व भएकाले यसलाई हेर्न र अनुभव गर्न ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय पर्यटकहरू आउनुहुन्छ, उहाँहरूका लागि पनि उचित व्यवस्थापन गरेका छौँ। अहिले इन्द्रजात्राका लागि आवश्यक सम्पूर्ण तयारीहरू तीव्र गतिमा अगाडि बढाइरहेका छौं।’’
विशेष गरेर नेवार समुदायमा ठूलो सांस्कृतिक महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यकाबाहिरका धुलिखेल र दोलखालगायतका स्थानहरूमा पनि परम्परागत रूपमा हर्षोल्लासका साथ मनाइन्छ।
जात्राका क्रममा हनुमानढोका परिसरमा इन्द्रध्वजासहितको विशेष लिंगाे ठड्याउने गरिन्छ। धर्मशास्त्र अनुसार लिङ्गो ठड्याउने यस धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने लिङ्गोको फेदमा भैरवको विधिपूर्वक पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।
शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ। इन्द्रध्वजको पूजा गरी अलौकिक शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा इन्द्रजात्राको विशेष महत्त्व रहँदै आएको छ।
इन्द्रजात्राको विशेष अवसरमा हनुमानढोकास्थित ऐतिहासिक गद्दी बैठकबाट राष्ट्र प्रमुख अर्थात् राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा प्रत्यक्ष अवलोकन गर्ने परम्परा रहेको जानकारी पनि अध्यक्ष शाक्यले दिए।
हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगाे ठड्याएपछि विधिवत् रूपमा सुरु हुने यस जात्रामा काठमाडौँका विभिन्न परम्परागत सांस्कृतिक नाचहरू प्रस्तुत गरिन्छ।
जसअनुसार भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार नाच तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख र मुख्य आकर्षणका रूपमा रहेका अध्यक्ष शाक्यले बताउनुभयो।
हनुमानढोकामा लिङ्गो ठड्याइएको आठौं दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन (ढालिसकेपछि) गरेपछि इन्द्रजात्राको विधिवत् समापन गरिने प्राचीन परम्परा रहेको उनको भनाइ छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment