१३ वर्षकी बालिकाले एसियाली खेलकुदमा स्वर्णपदक जितेर रेकर्ड बनाइन्
काठमाडौं । चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले एसियाली खेलकुद (एशियन गेम्स) को पहिलो दिन महिला २०० मिटर बटरफ्लाई स्पर्धामा स्वर्ण पदक जितेकी छन्।
यु जिदीले २ मिनेट ०५.०८ सेकेन्डको समयका साथ रेस पूरा गर्दै एसियाली खेलकुदको नयाँ रेकर्ड कायम गरिन्।
यु जिदीको यो समय तीन वर्षअघि उनकै देशकी पौडीबाज झाङ युफेइले बनाएको रेकर्डभन्दा करिब आधा सेकेन्ड राम्रो हो। उनले आफ्नै टोलीकी सहकर्मी चाङ मोहानलाई तीन सेकेन्डभन्दा बढीको अन्तरले पछि पार्दै स्वर्ण पदक आफ्नो नाममा गरिन्।
स्वर्ण पदक जितेपछि यु जिदीले आफ्नो प्रदर्शनलाई “केवल ठीकठाक” मात्र भनिन्। उनले आफ्नो बटरफ्लाई प्रविधिमा अझै सुधारको सम्भावना रहेको बताइन्।
यु जिदीले भनिन्, “म योभन्दा पनि तीव्र गतिमा पौडिन चाहन्छु। यहाँ मैले आफ्नो समयमा ०.९ सेकेन्डको सुधार गरेकी छु र मलाई विश्वास छ अर्को पटक म यसभन्दा राम्रो प्रदर्शन गर्नेछु।”
यु जिदीलाई सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि चीनकी उदाउँदी पौडीबाजका रूपमा हेरिएको छ। एसियाली खेलकुदमा उनले अझै दुईवटा व्यक्तिगत स्पर्धामा भाग लिनेछिन्।
यसअघि यु जिदीले १२ वर्षको उमेरमा विश्व च्याम्पियनसिपमा पदक जितेर चर्चा कमाएकी थिइन्। उनी गत वर्ष चीनको ४x२०० मिटर फ्रिस्टाइल रिले टोलीको हिस्सा थिइन्, जसले कांस्य पदक जितेको थियो।
यससँगै उनी विश्व च्याम्पियनसिपमा पदक जित्ने सबैभन्दा कम उमेरकी पौडीबाज बनेकी थिइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment