नेपालगञ्जबाट दम्पतीसहित चार जना लागुऔषधसहित पक्राउ

डिसी नेपाल
५ असोज २०८३ १३:०१

बाँके। बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयको संयुक्त टोलीले नेपालगञ्जका छुट्टाछुट्टै दुई स्थानबाट खैरो हेरोइन (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-२ बाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा आइतबार बेलुका एक दम्पतीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नेपालगञ्ज-१३ का ३० वर्षीय देशराज चौहान लोनिया र उनकी २५ वर्षीया श्रीमती पूजा लोनिया रहेका छन्।

उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन, भे ६ प ३७४५ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीतसिंह राठौरले जानकारी दिए। पक्राउ परेका दम्पतीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

त्यसैगरी, प्रहरीले नेपालगञ्जको एकलैनीस्थित एक घरमा खानतलासी गरी ३५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई दाजुभाइलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ३० वर्षीय मोहम्मद हसिब अन्सारी र उनका २३ वर्षीय भाइ समिर अहमद अन्सारी रहेका छन्।

उनीहरूको कोठाबाट लागुऔषधका साथै विभिन्न कम्पनीका पाँच थान मोबाइल, एक थान डिजिटल तराजु र नगद ७३ हजार ७०० रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *