‘द राइज अफ साम्राज्य’को छायांकन सुरु: २५ देखि ८० वर्षसम्मको भूमिकामा सौगात मल्ल
काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै औपचारिक रूपमा सुरु भएको छ।
ठूलो क्यानभासमा एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुन लागेको यस चलचित्रको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ। चलचित्रको अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ।
चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठको प्रमुख भूमिका रहनेछ। विशेषगरी सौगात मल्लले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जटिल एवं चुनौतीपूर्ण भूमिका निर्वाह गर्दैछन्।
‘अगस्त्यः च्याप्टर १’ पछि निर्देशक सौरभले सौगात मल्ल र विजय बरालसँग पुन: सहकार्य गरेका हुन् भने दयाहाङ राईसँग उनको यो पहिलो काम हो। यस्तै, ६ वर्षपछि सुशील श्रेष्ठ र सौरभको पुनर्मिलन भएको छ। अर्का कलाकार अमरप्रताप श्रेष्ठले यसै चलचित्रका लागि साढे दुई वर्षदेखि विशेष प्रशिक्षण लिइरहेका थिए।
चर्चित उपन्यासकार बुद्धिसागरको कथा तथा पटकथा रहेको यस चलचित्रलाई डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्रका रूपमा निर्माण गर्न लागिएको छ।
चलचित्रमा प्रवेश चौधरी र निला देव निर्माता, विश्वास बस्नेत (बेन) सह-निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment