जापानमा ‘डुजुआन’ आँधीको वितण्डा: बाढी-पहिरोमा ९ जनाको मृत्यु, ४ जना बेपत्ता
टाेकियाे। जापानको पूर्वी क्षेत्रमा आएको शक्तिशाली टाइफुन (समुन्द्री आँधी) ‘डुजुआन’ का कारण परेको भीषण वर्षापछि बाढी र पहिरो जाँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्।
टोकियो आसपासका कान्तो क्षेत्र र इजु द्वीपसमूहमा रेकर्डस्तरको वर्षा भएपछि ठूलो धनजनको क्षति भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी प्रभावित चिबा प्रिफेक्चरमा ६ जनाको मृत्यु भएको छ।
पहिरोको भग्नावशेष हटाउन मेसिन चलाउने क्रममा एक पुरुष बाँसघारीमा खसेर ज्यान गुमाएका छन् भने डुबेको गाडीभित्र अर्का एक व्यक्तिको शव फेला परेको छ। यस्तै कानागावा प्रिफेक्चरमा घर पहिरोले पुरिँदा ६० वर्षीया महिलासहित ३ जनाको मृत्यु भएको छ।
हालसम्म चिबा, कानागावा र इबाराकी प्रिफेक्चरमा ५०० भन्दा बढी घर तथा भवनहरू क्षतिग्रस्त वा बाढीबाट प्रभावित भएका छन्। बुधबार बिहानसम्म २४ हजार ७०० भन्दा बढी घरपरिवारमा विद्युत सेवा अवरुद्ध बनेको छ।
प्रहरी र अग्निनियन्त्रकहरूले बेपत्ता भएका ४ जनाको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment