बिहीबारदेखि रात्रिकालीन र लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेकाले असोज १२ गतेसम्म अत्यावश्यक कामबाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक आह्वान गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि असोज १२ सम्म कुनै पनि क्षेत्रमा सवारी साधन सञ्चालन गर्नुअघि अनिवार्य रूपमा मौसम र सडकको अवस्थाबारे विस्तृत जानकारी लिन आफ्ना सदस्य तथा चालकहरूलाई निर्देशनसमेत दिएको छ।
सडकको वास्तविक अवस्था नबुझी यात्रा गर्दा सडकमा गाडी पहिरोमा पर्ने वा अलपत्र पर्ने जोखिम उच्च रहने भन्दै यात्रा स्थगित गर्न आग्रह गरिएको हो।
यसअघि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा अति भारी वर्षाको चेतावनी जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेका थिए।
सोही सरकारी चेतावनी र आग्रहलाई मध्यनजर गर्दै महासंघले पनि मातहतका व्यवसायी, चालक र सर्वसाधारण नागरिकलाई सचेत रहन अपिल गरेको छ।
मौसम पूर्वानुमान अनुसार यो साताभरि नै अविरल वर्षा हुने र त्यसले विशेष गरी पहाडी तथा राजमार्ग क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढाउने सम्भावना छ।
सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न र विपद्बाट जोगिन सरकार तथा यातायात महासंघले यात्रामा विशेष सावधानी अपनाउन र सकभर सुरक्षित स्थानमै रहन आग्रह गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment