त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
८ असोज २०८३ १९:०८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लुकाइछिपाइ ल्याएको आधा किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको केरला स्थायी ठेगाना भएका मोहम्मद चेरा थोडी रहेका छन्।

सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेका अनुसार उनलाई बिहीबार दिउँसो १२:३२ मा पक्राउ गरिएको हो। थोडी संयुक्त अरब इमिरेट्सबाट फ्लाई दुबईको जहाजमार्फत काठमाडौं ओर्लिएका थिए।

अन्तर्राष्ट्रिय आगमन बुथमा खटिएका सुरक्षाकर्मीहरूले शंकास्पद गतिविधि र हिँडडुलका आधारमा केरकार तथा जाँच गर्ने क्रममा थोडीलाई पक्राउ गरेको रजौरेले जानकारी दिए। खानतलासीका क्रममा उनले लगाएको भित्री पेन्टी (कट्टु) भित्र प्लास्टिकमा बेरेर चलाखीपूर्ण तरिकाले लुकाएको अवस्थामा उक्त सुन बरामद भएको थियो।

प्रहरीले बरामद गरेको उक्त सुनको तौल अन्दाजी ५३५ ग्राम रहेको छ। पक्राउ परेका थोडी र बरामद गरिएको सुन कानुनी कारबाही तथा विस्तृत अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

विमानस्थलमा पछिल्लो समय सुन तस्करी नियन्त्रणका लागि सुरक्षा जाँच, एक्स-रे र निगरानी प्रणालीलाई थप कडा पारिएको रजौरेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *