बाढी र पहिरोले कोशीका मुख्य लोकमार्गहरू ठप्प, ७ जिल्लामा रात्रिकालीन सवारीमा रोक

डिसी नेपाल
९ असोज २०८३ १८:०६

विराटनगर। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न प्रहरीले प्रदेशका ७ वटा पहाडी जिल्लामा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोका कारण पाँचथर, इलाम, ताप्लेजुङ, सोलुखुम्बु र तेह्रथुमका विभिन्न सडक खण्डहरूमा यातायात ठप्प बनेको छ। पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलामा पानीको बहाव बढेपछि तमोर करिडोर अवरुद्ध भएको छ भने फालेलुङ–२ बरडाँडामा पहिरो जाँदा मेमेङ–जोरपोखरी सडक बन्द भएको छ। यस्तै, पाँचथरकै याङवरक–२ दोभानेमा झरेको पहिरोले मध्यपहाडी लोकमार्गसमेत ठप्प पारेको छ।

यसैगरी सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ साल्मेमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। इलामको माईजोगमाईस्थित जोगमाई खोला र सूर्योदय नगरपालिकास्थित मयुम खोलामा पानीको सतह बढेपछि भित्री सडकहरू बन्द भएका छन् भने इलाम–९ मा पहिरो जाँदा इलाम–बिर्तामोड सडक प्रभावित बनेको छ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका दोभान र मिरिङदिङमा पहिरो झर्दा तथा तेह्रथुमको लालीगुँरासमा सडकमा हिलो र लेदो जम्दा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्।

वर्षाका कारण सडकमा पहिरो र बाढीको जोखिम उच्च रहेकाले प्रहरीले प्रदेशका विभिन्न लोकमार्ग तथा भित्री सडकहरूमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाएको छ। जसअनुसार इलाम, पाँचथर र ताप्लेजुङमा मेची लोकमार्ग तथा भित्री सडकहरूमा असोज ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। धनकुटामा कोशी लोकमार्ग भएर चल्ने सवारीमा असोज ११ सम्म बेलुकी ७ देखि बिहान ५ बजेसम्म, तेह्रथुममा असोज १० सम्म बेलुकी ६:३० देखि बिहान ५ बजेसम्म र सङ्खुवासभामा असोज ११ सम्म बेलुकी ६ देखि बिहान ६ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ।

यसैगरी भोजपुरमा मध्यपहाडी लोकमार्गमा असोज ८ गतेदेखि निरन्तर बेलुकी ७ देखि बिहान ५ बजेसम्म, सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गमा बेलुकी ६ देखि बिहान ६ बजेसम्म र उदयपुरमा असोज १२ सम्म बेलुकी ५ देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

बाढी र पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेक रातको समयमा यात्रा नगर्न तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। यात्राका क्रममा कुनै समस्या परेमा वा सडकको जानकारी लिनुपरेमा नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ तथा प्रदेश प्रहरीको फोन नम्बर ०२१–४३७००१ वा ९८५२०९०९९९ मा सम्पर्क गर्न सकिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *