यस्तो छ त्रिभुवन राजपथमा सवारी सञ्चालनको नयाँ व्यवस्था

डिसी नेपाल
९ असोज २०८३ १८:३४

हेटौंडा। लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको अविरल तथा भारी वर्षाका कारण सडकमा अत्यधिक चाप परेको भन्दै मालवाहक तथा यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा तोकिएको समयअनुसार मात्रै सञ्चालन गर्न आग्रह गरेको छ।

कार्यालयका अनुसार हेटौंडाबाट काठमाडौं जाने सवारीसाधनले चौकीटोलबाट असोज ९ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्रै यात्रा गर्न पाउनेछन्। त्यस्तै, असोज १० गते बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म हेटौंडाबाट काठमाडौं जाने सवारीसाधन सञ्चालन गर्न सकिनेछ।

काठमाडौंबाट हेटौंडातर्फ आउने सवारीसाधनका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ९ गते साँझ ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालनको अनुमति दिइएको छ। असोज १० गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म काठमाडौंबाट हेटौंडातर्फ सवारी सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ।

यसैबीच, अर्को व्यवस्था नभएसम्म इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीबाहेक १० चक्केभन्दा ठूला र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा पूर्ण रूपमा निषेध गरिएको छ। यात्रुवाहक सवारीसाधनको हकमा भने ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्रै त्रिभुवन राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयले चालक, व्यवसायी तथा यात्रुलाई तोकिएको समयतालिकाअनुसार मात्रै यात्रा गर्न आग्रह गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *