रहस्यै-रहस्यमा यतीको टाउको
खुम्जुङ गाउँको प्राचीन गुम्बाभित्र प्रवेश गर्दा गहिरो शान्तिले मनलाई एकाएक घेर्छ। धूपको सुगन्ध, प्रार्थनाको मन्द स्वर र श्रद्धाले उज्यालिएको वातावरणले पाइला राख्नेबित्तिकै मनलाई अर्कै संसारमा पुर्याएको महसुस हुन्छ।
स्थानीय शेर्पा गाइड दावा दाइले हामीलाई भगवान् गौतम बुद्ध, गुरु रिम्पोछे र मञ्जुश्रीका ढलौटका मूर्तिहरू देखाउँदै गुम्बाको एक कुनामा रहेको सानो काठको सन्दुकतर्फ लैजान्छन्।
आवाज केही सानो पार्दै, रहस्यमय मुस्कानका साथ उनी भन्छन्- “हजुर, यही सन्दुकमा खुम्बु क्षेत्रको सबैभन्दा ठूलो रहस्य सुरक्षित छ। स्थानीय विश्वासअनुसार यो यतीको टाउको हो, जुन हाम्रो गुम्बाको सबैभन्दा मूल्यवान् सम्पदा पनि हो।”
“यती!” म अनायासै उत्साहित हुन्छु- “त्यही हिममानव, जसको खोजीमा संसारभरका वैज्ञानिक र अन्वेषकहरू दशकौँदेखि भौँतारिइरहेका छन्?”
दावा दाइ मुस्कुराउँछन्- “हामी शेर्पाहरू यसलाई ‘मेन्डे’ भन्छौँ। पुस्तौँदेखिको हाम्रो विश्वासअनुसार यो हिमाली क्षेत्रमा बस्ने रहस्यमय प्राणीको अवशेष हो। वैज्ञानिकहरूले यसलाई यतीको वास्तविक टाउको मानाेनन् होला, तर हाम्रो जनविश्वास र सांस्कृतिक स्मृतिमा यसको स्थान आज पनि उत्तिकै जीवित छ।”
“त्यसो भए यसको कथा के हो त?” मेरो उत्सुकता बढ्छ।
उनी बिस्तारै सुनाउन थाल्छन्- बुढापाकाहरूका अनुसार पहिले यतीहरू माथिल्ला हिमाली भेगबाट कहिलेकाहीँ गाउँसम्म झर्थे र मानिसहरूलाई त्रसित बनाउँथे। त्यसपछि गाउँका लामा गुरुले विशेष धार्मिक अनुष्ठान गरेर उनीहरूलाई निर्जन क्षेत्रमा बस्न बाध्य पारे। अर्को जनविश्वासअनुसार कुनै समय मृत भेटिएको यतीको छाला वा खप्पर गाउँको रक्षा र शुभताको प्रतीकका रूपमा यही गुम्बामा सुरक्षित राखिएको हो।
“यसको वैज्ञानिक परीक्षण पनि भएको छ र दावा दाइ?” म सोध्छु।
दावा दाइ टाउको हल्लाउँदै भन्छन्- “भएको छ भाइ। सन् १९६० मा सर एडमन्ड हिलारीले नै यसलाई परीक्षणका लागि बाहिर लगेका थिए। पछिल्ला अनुसन्धानहरूले यो यतीको टाउको नभई हिमाली सेरोको छाला वा टोपीजस्तो अवशेष हुन सक्ने देखाए। तर विज्ञानको निष्कर्षले हाम्रो विश्वास बदलेको छैन। हामीलाई यसको जैविक प्रमाणभन्दा आध्यात्मिक र सांस्कृतिक अर्थ बढी महत्त्वपूर्ण लाग्छ।”
म पनि विश्वस्त छु कि स्थानीय शेर्पा समुदायका लागि यसको महत्त्व वैज्ञानिक प्रमाणमा मात्र सीमित छैन। यो पुस्तौँदेखि जोगिँदै आएको विश्वास, गुम्बाको स्मृति र हिमालको रहस्यको सांस्कृतिक प्रतीक हो।
उनका कुरा सुन्दै म गहिरो सोचमा डुब्छु। कस्तो अद्भुत सङ्गम! एकातिर वैज्ञानिक अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष, अर्कातिर शताब्दीऔँदेखि पुस्तान्तरण हुँदै आएको जनविश्वास! वैज्ञानिक परीक्षणले भौतिक सत्य खोज्छ, तर स्थानीय आस्थाले सांस्कृतिक अर्थ जोगाउँछ।
त्यसैले खुम्जुङको यो अवशेषलाई ‘साँचो’ वा ‘झूटो’ को कसीबाट मात्र हेर्नुभन्दा शेर्पा समुदायको जीवन्त स्मृति र आस्थाका रूपमा बुझ्नु बढी अर्थपूर्ण लाग्छ। खुम्जुङ अब मेरो लागि एउटा सुन्दर बस्ती मात्र रहेन; यो आस्था र रहस्यलाई एउटै सन्दुकभित्र जोगाएर बसेको अनुपम खजाना बनेर उभिन्छ।
दावा दाइ थप्छन्- “सत्य यही हो भाइ। खुम्जुङ शेर्पा सभ्यता, शिक्षा र प्राकृतिक सौन्दर्यको शान्त पाठशाला हो। नाम्चे बजारभन्दा माथि बसेर यसले आज सम्पूर्ण खुम्बुलाई आफ्नो संस्कृतिको उज्यालोले मार्गदर्शन गरिरहेको छ।”
उमेरले अहिले आफू ६० काटिसकेको दावा दाइ बताउँछन्। जीवनभर पर्यटन क्षेत्रमै बिताएको अनुभव उनीसँग छ। पर्यटकहरूलाई आफूले यस्तै कुरा भन्दै आएको उनी बताउँछन्।
उनी भन्छन्– “मेरो यो काम मैले थाहा पाएसम्म यसरी नै गर्दै आएको छु। केही वर्षदेखि स्वास्थ्यका कारण गाइडको काम गरेको छैन। तर मलाई कुनै दिन आफूले थाहा पाएको कुरा अरूलाई बताउन पाइनँ भने उकुसमुकुस हुन्छ। आज संयोगले भाइहरूलाई भेटेर केही कुरा भन्न पाएँ।”
उनले आफ्नो बोलीसँगै ‘जोमोजोमो’ भनेको सुन्दा मलाई सुरुमा अनौठो लागेको थियो। तर उनैले बताएपछि उक्त शब्दको अर्थ बुझ्छु। वास्तवमा गाइड र स्थानीय बासिन्दा आफ्ना पाहुनाको कतिसम्म ख्याल गर्छन् भन्ने कुरा!
दावा दाइ भन्छन्- “‘जोमोजोमो’ अर्थात् ‘बिस्तारै-बिस्तारै आउनुहोस् है’ भनेको हो, यो हाम्रो थेगोजस्तै बोली हो। पाहुनाहरूलाई बाटोमा हिँड्दा बिस्तारै हिँड्नुहोला, धेरै हतार नगर्नुहोस् भनेर यो शब्द बोल्ने गरिन्छ।”
त्यसैगरी ‘तासी देलेक’ शब्द पनि स्थानीयको अर्को आदरको शब्द हो। यो शब्द पनि उनीहरूले भेटिँदा र छुटिँदा भनिरहन्छन्। शेर्पा भाषाको सबैभन्दा मुख्य अभिवादन नै यही ‘तासी देलेक’ हो।
दावा दाइ स्पष्ट पार्दै भन्छन्- “यसको अर्थ तपाईँको कल्याण होस् वा शुभ मङ्गल होस् भन्ने हुन्छ। नमस्कार वा शुभप्रभात भने जस्तै हो।”
दाइका यिनै कुरा सुन्दै ‘तासी देलेक’ भनेर हात जोड्दै उनीसँग छुट्टिएर यार्बु भाइ र म अर्को बाटो लाग्छौँ। दावा दाइका कुरा मनभरि सङ्गालेर हामी एउटा परम्परागत शैलीको स्थानीय घरमा पुग्छौँ।
आत्मीय सत्कारका बीच चिया-खाजा सकेर बाहिर निस्कँदा यार्बु शेर्पा भाइले एक्कासि अर्को खुसीको खबर सुनाउँछन्– “अब हजुरलाई एक जना बूढा मान्छेसँग भेटाउन लैजान्छु। उहाँ घरमै हुनुहुन्छ भने आज खुम्बुको इतिहास नै सुन्न पाउनुहुनेछ। मेरो पछि–पछि बिस्तारै आउनुहोस् है।”
उनी साँघुरो ढुङ्गे र बलौटे गल्लीहरूतिर अघि बढ्छन्। चिप्लिने वा ठेस लाग्ने सानो त्रास मनमा भए पनि खुम्बुको विगतलाई आफ्नै आँखाले देखेका ती वृद्धलाई भेट्ने उत्सुकता त्योभन्दा कयौँ गुना ठूलो छ।
बूढा शेर्पा भेटिए, तर उनलाई नेपाली बोल्न फिटिक्कै नआउने रहेछ। यार्बु भाइ नै दोभाषे बनेर उनका कुरा मलाई बुझाउँछन्। उनी उमेरले ८० भन्दा बढी नै पुगिसकेका र शरीर धेरै गलिसकेको भए पनि मन गलेको जस्तो लागेन। उनी रहेछन्- पेम्बा छिरिङ शेर्पा। उमेरमा भारी बोक्ने र गाइड गर्ने काम गरे। तर निकै वर्षदेखि घरमै बस्दा रहेछन्।
उनका अनुसार केही दशकअघिको खुम्बु बिल्कुलै फरक थियो। बाटोले पर्यटकभन्दा पहिले गाउँलेका भारी बोक्थ्यो; याकका घण्टी र पशुपालकका पाइला नै यहाँका परिचित आवाज थिए।
आलु र फापरका बारी, चौँरीका गोठ, मौसमी चरन र तिब्बतसँगको व्यापारिक विनिमय नै जीवनका मुख्य आधार थिए। पैसा कमाउनुभन्दा परिवार र गाउँ धान्नु ठूलो कुरा थियो। प्रकृति बजार होइन, जीवनको पर्याय थियो।
ती वृद्धको यो अमूल्य स्मृतिले मलाई हिमाली समाजशास्त्रका पुराना अध्ययनहरूको याद दिलाउँछ। वास्तवमा खुम्बुको इतिहास मानिस, चौँरी र हिमाली भू–दृश्यको यही अन्योन्याश्रित सम्बन्धमा अडिएको थियो। पछि पर्वतारोहण र पर्यटनको विस्तारले यहाँ नयाँ अवसर त ल्यायो, तर साथसाथै परम्परागत जीवनशैली र वातावरणीय सन्तुलनमा नयाँ दबाब पनि सिर्जना गर्यो।
आज पर्यटनको विस्तारसँगै समय फेरिएको छ। थामे र खुन्देका बाटाहरूमा पर्यटकका पाइला बाक्लिएका छन्। होटल, लज र गाइडका आवाजले हिमाली कन्दरा गुञ्जिरहेको छ। खानपान र दैनिक आवश्यकताका लागि पहिलाजस्तो खनीखोस्री गरिरहनु पर्दैन। तर सुविधा बढ्दै जाँदा पुरानो श्रम, चरन, खेती र आत्मनिर्भर जीवनशैली बिस्तारै पातलिँदै गएको नमीठो अनुभूति पनि हुन्छ।
मलाई अचानक क्रिस्टोफ भोन फ्युरर-हाइमनडोर्फका पुराना अभिलेखीय फिल्महरू सम्झना आउँछन्, जहाँ उनले १६ मिमि क्यामेरामा पुराना खुम्बुका गाउँ, विवाह, धार्मिक अनुष्ठान र दैनिकी कैद गरेका थिए।
ती फिल्ममा देखिने याकका घण्टी, ढुङ्गे गोरेटो र परम्परागत पहिरनहरू यिनै वृद्धका सम्झनासँग दुरुस्तै मेल खान्छन्। खुम्बुको इतिहास केवल पुस्तक र अभिलेखमा मात्र होइन, यस्तै जीवित मानिसका स्मृतिमा अझ ताजै रहेछ।
अन्तिममा ती वृद्धले भनेको एउटा कुरा मनमा गहिरो गरी गडिइरहन्छ- “पहिले बाटो मानिसले खोज्थे; अहिले बाटोले मानिस खोज्दै गाउँसम्म आइपुग्यो।”
म यो वाक्यलाई मनमनै गुन्छु- पहिले बाटोले गाउँलेका भारी र याक, चौँरीका पाइला बोकेर टाढासम्म पुर्याउँथ्यो; आज यही बाटोले पर्यटक, क्यामेरा, आधुनिक लज र विश्वबजारलाई सोझै गाउँभित्र भित्र्याएको छ। खुम्बुको सम्पूर्ण रूपान्तरण यही एउटा वाक्यमा अटाएको छ- पहिले गाउँ संसारतिर जान्थ्यो, अहिले सिङ्गो संसार गाउँभित्रै आइपुगेको छ।
(नियात्राकारको प्रकाशोन्मुख नियात्रा सङ्ग्रह ‘कलापत्थरबाट सगरमाथा नियाल्दा’ बाट साभार)
No ads found for this position




Facebook Comment