सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा शुक्रबार रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज रातिदेखि वर्षा निरन्तर बढ्ने भएकाले जोखिमका दृष्टिले सुदूरपश्चिममा थप सतर्क रहनुपर्ने अवस्था रहेको बताए। शनिबारदेखि पानी पर्ने क्रम थप बढ्ने र प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम बढ्ने उहाँले जानकारी दिए।
आज राति प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ। यस्तै, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम कार्यालयले जनाएको छ।
आगामी २४ घण्टामा आकस्मिक बाढीको जोखिम
आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशका चार जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान ८ः०० बजेदेखि २४ घण्टाका लागि गरेको आकस्मिक बहाव (फ्ल्यास फ्लड) जोखिम पूर्वानुमानमा प्रदेशका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च जोखिमको तहमा राखेको छ।
महाशाखाको पूर्वानुमान नक्साअनुसार बैतडी, दार्चुला, बाजुरा, अछाम र बझाङमा मध्यम जोखिम रहेका प्रमुख साहले जानकारी दिनुभयो। पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा भइरहेको वर्षासँगै साना नदी, खोला तथा खहरेमा पानीको बहाव बढ्नसक्ने भएकाले आकस्मिक बाढीको जोखिम बढेको भन्दै उच्च जोखिममा रहेका जिल्लाका नदी तथा खोला तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको उनले बताए।
यहाँका उच्च जोखिममा रहेका जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बाढी आउने सम्भावना उच्च हुने भएकाले आवश्यक तयारी अवस्थामा रहन स्थानीय तहलाई पनि आग्रह गरिएको छ। स्थानीय तह तथा सरोकार भएका निकायलाई आपत्कालीन तयारीका सामग्री तयारी अवस्थामा राख्नुका साथै उद्धार तथा राहतका स्रोतसाधन परिचालन गर्न सोहीअनुसार तयार रहन समन्वय भइरहेको कार्यालय प्रमुख इन्जिनियर साहले जानकारी दिए।
उच्च जोखिममा रहेका डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरका नागरिकले नदी, खोला तथा खहरे आसपास अनावश्यक आवतजावत नगर्न, पानीको सतह बढेको अवस्थामा खोला नतर्न तथा मौसम र बाढीसम्बन्धी सूचना नियमित रूपमा लिन उनले आग्रह गरे। जोखिम बढेमा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशनअनुसार सुरक्षित स्थानतर्फ जानसमेत तयारी अवस्थामा रहन सचेत गराइएको छ।
मध्यम जोखिममा रहेका बैतडी, दार्चुला, बाजुरा र अछामका नदीको जलस्तर बढ्नसक्ने भएकाले नदी तटीय तथा होचा भूभागका बासिन्दाले सतर्क रहन र पूर्वसूचना प्राप्त गरिरहनुपर्ने जनाइएको छ। स्थानीय तह तथा सम्बन्धित निकायले नदीको अवस्थाबारे निगरानी बढाउँदै समुदायलाई समयमै सूचना दिनसमेत सचेत गराइएको छ।
यसैबिच जल तथा मौसम विज्ञान विभागको पछिल्लो वर्षा निगरानीमा सुदूरपश्चिमका विभिन्न स्थानमा उल्लेख्य वर्षा मापन भएको छ। केही स्थानमा पछिल्लो २४ घण्टामा ७० मिलीमिटरभन्दा बढी वर्षासमेत मापन भएकाले वर्षा र त्यसबाट नदी खोलामा पर्नसक्ने प्रभावलाई जोडेर तयारी गर्न भनिएको छ। यहाँ आज सबैभन्दा बढी कैलालीको भजनी नगरपालिका क्षेत्रमा ७५ दशमलव छ मिलीमिटर वर्षा मापन गरिएको छ।
यसै आधारमा सुदूरपश्चिमका अधिकांश स्थानीय तहले पूर्वतयारीस्वरुप नियमित मौसमी बुलेटिन अद्यावधिक गर्ने र सोहीअनुसार विभिन्न माध्यमबाट समुदायमा सूचना प्रवाह गरिरहेका छन्। बाढी तथा अतिवृष्टिसम्बन्धी सूचना लिन टोल फ्री नम्बर ११५५ मा नियमित सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment