बाढी र डुबान जोखिम बढेपछि झापामा पहिलोपटक ड्रोनबाट निगरानी

डिसी नेपाल
१० असोज २०८३ ७:०१

झापा। बङ्गालको खाडीबाट अगाडि बढेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा इतिहासमै पहिलोपटक प्रविधिको प्रयोग गर्दै ड्रोनमार्फत जोखिम क्षेत्रको निगरानी सुरु गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले डिभिजन वन कार्यालयसँगको समन्वयमा शुक्रबारदेखि ड्रोन सञ्चालनमा ल्याएको हो। यस प्रविधिबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, जोखिममा रहेका बस्ती तथा डुबान हुनसक्ने सम्भावित क्षेत्रहरूको प्रत्यक्ष अनुगमन गरिनेछ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी सूचना संकलन र उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको हो। जोखिम नक्साङ्कनका आधारमा नदी र खोलाका संवेदनशील क्षेत्रको अनुगमन गरी प्राप्त सूचनाअनुसार उद्धार तथा प्रतिकार्य अघि बढाइनेछ।

हाल गौरीगञ्ज गाउँपालिकाका वडा नम्बर १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नम्बर १ र २ का ६९५ गरी कुल एक हजार १६९ घरपरिवार डुबानको उच्च जोखिममा रहेका छन्। सम्भावित विपद्को सामना गर्न जिल्लामा नौ वटा विपद् प्रतिकार्य डुङ्गा, नेपाली सेनाका चार वटा ‘क्विक रेस्पोन्स टिम’ र सशस्त्र प्रहरीका उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट जोखिमयुक्त नदी क्षेत्रमा नियमित निरीक्षणसमेत भइरहेको छ। शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाएर सर्वसाधारणलाई सतर्क गराइएको थियो। ती नदी क्षेत्रमा जडान गरिएका तीन वटा साइरनमार्फत पूर्वसूचना दिइएको र शुक्रबार साँझदेखि जलसतह घट्न थालेको प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *