पूर्वी नेपालमा मौसम सुधारिँदै, पश्चिममा आइतबारसम्मै भारी वर्षाको जोखिम
काठमाडौं । पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार हुँदै गए पनि देशका पश्चिमी भूभागहरूमा भने मौसमी प्रणालीको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारसम्मै भारी वर्षाको सम्भावना रहेको छ।
भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै गएकाले विशेष गरी पश्चिमी भूभागहरूमा वर्षाको असर बढी देखिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो। पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा दर्ज भइसकेको छ।
विभागका अनुसार आइतबार दिउँसोसम्म बागमती र मधेश प्रदेशका पश्चिमी भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। पूर्वी नेपालतर्फ भने मौसममा क्रमिक सुधार आउने र कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा मात्र हुने अनुमान गरिएको छ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोला खोँचहरूमा बाढीको जोखिम उच्च रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न अपिल गरेका छन्। अत्यावश्यक कामले यात्रा गर्नुपरेमा नेपाल प्रहरीसँग सम्पर्क गरी बाटो र मौसमको अवस्था बुझेर मात्र निस्कन विभागले सुझाव दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment