पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाराजगन्जस्थित निवासबाटै पक्राउ

डिसी नेपाल
११ असोज २०८३ ६:१९

काठमाडौं। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई महाराजगन्जस्थित आफ्नै निजी निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए। तर, उनीविरुद्ध कुन विषयमा र कस्तो प्रकृतिको उजुरी परेको हो भन्नेबारे प्रहरीले विस्तृत विवरण अझै सार्वजनिक गरेको छैन।

न्यायालयको नेतृत्वमा रहँदा तत्कालीन मन्त्रिपरिषदमा भागबन्डा खोजेको, बिचौलियालाई प्रश्रय दिएको र न्यायिक विचलन ल्याएको लगायतका गम्भीर आरोप लागेपछि जबरा तीव्र विवादमा तानिएका थिए। नेपाल बार एशोसिएसन र कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समयसम्म सर्वोच्च अदालत परिसरमै सशक्त आन्दोलन र धर्ना कार्यक्रम सञ्चालन गरेका थिए।

२०७५ पुस १८ गते देशको २९औं प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते सत्तागठबन्धनका ९८ जना सांसदहरूले संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग दर्ता भएसँगै उनी पदबाट स्वतः निलम्बित भएका थिए।

संसद्‌मा महाभियोग प्रस्तावमाथि छानबिन समितिको प्रतिवेदन पेस भए पनि त्यसलाई संसद्‌बाट औपचारिक रूपमा टुङ्गो नलगाइँदा उनी निलम्बनकै अवस्थामा रहे। त्यसपछि सर्वोच्च अदालत फर्किने उनको प्रयास सफल हुन सकेन र उनी निलम्बित अवस्थामै उमेर हद (६५ वर्ष) का कारण २०७९ मङ्सिर २८ गते (डिसेम्बर १४, २०२२) अनिवार्य अवकाशमा गएका थिए।

पछिल्लो समय उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उजुरी परेको थियो। अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोही वा अन्य कुनै आपराधिक छानबिनका सिलसिलामा नियन्त्रणमा लिएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले थप अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *