अविरल वर्षापछिको बाढीपहिरोले विद्युत् पूर्वाधारमा व्यापक क्षति
देशका धेरै क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
काठमाडाैं।देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र उपकरणमा आएको खराबीले गर्दा विद्युत् पूर्वाधारमा व्यापक क्षति पुगेको छ।
पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रका प्रसारण लाइन, सब-स्टेशन तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुग्दा देशका धेरै भागमा विद्युत् आपूर्ति नराम्ररी प्रभावित भएको छ।
बाढी र प्रसारण लाइनमा आएको खराबीका कारण पोखरा क्षेत्रमा सबैभन्दा धेरै असर परेको छ। कुस्मा-न्यू बुटवल २२० किलोभोल्ट लाइनमा समस्या आउँदा करिब २०० मेगावाट र राहुघाट-दाना १ र २ नम्बर लाइन अवरुद्ध हुँदा करिब १५५ मेगावाट विद्युत् रोकिनाका साथै कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस-नामर्जुङ, सेती नदी-करुवासेट, अपर दोर्दी र मोदी लगायतका जलविद्युत् आयोजनाहरूमा बाढी पसेपछि उत्पादन तथा आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। पोखरा क्षेत्रका आयोजनाहरूबाट मात्रै ४०० मेगावाटभन्दा बढी विद्युत् क्षमता प्रभावित भएको छ।
यस्तै, राहुघाट र बुटवल क्षेत्रमा न्यू बुटवल-कुस्मा २२० किलोभोल्ट लाइनमा समस्या आउँदा करिब ११० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ भने न्यू भरतपुर-न्यू बुटवल २२० किलोभोल्ट लाइनमा रुख ढलेर पुगेको क्षतिलाई पछि मर्मत गरी पुनः सञ्चालन गरिएको छ। चापर-पथलैया १३२ किलोभोल्ट लाइन बन्द हुँदा कावासोती सब-स्टेशनमा १ घण्टा विद्युत् कटौती गरिएको थियो।
हेटौँडा र तराई क्षेत्रतर्फ माण्डु ६६ किलोभोल्ट क्षेत्रमा बाढीका कारण करिब ३२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ भने भरतपुर सब-स्टेशनमा रहेको क्यापेसिटर भोल्टेज ट्रान्सफर्मर जलेर क्षति पुगेको छ।
यसबाहेक सिमरा सब-स्टेशनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगहरूमा करिब ८० मेगावाट तथा कामने सब-स्टेशन र औद्योगिक क्षेत्रमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।
काठमाडौं उपत्यकाभित्र पाटन सब-स्टेशन र टेकु क्षेत्रमा बिहान करिब १० मिनेट विद्युत् अवरुद्ध भएको थियो, जहाँ स्युचाटार ६६ किलोभोल्ट लाइन एकैपटक अत्यधिक चापमा परेकाले आपत्कालीन विद्युत् आपूर्ति प्रयोग गरिएको थियो।
साथै, कावासोती, हरदी, सुनवल, सिमरा, अमलेखगञ्ज र वीरगञ्ज लगायतका विभिन्न औद्योगिक तथा सब-स्टेशन क्षेत्रहरूमा विभिन्न समयमा विद्युत् कटौती गरिएको छ। प्रसारण लाइन, जलविद्युत् गृह र सब-स्टेशनहरूमा आएको अवरोधका कारण हालसम्म देशभर कुल मिलाएर करिब १,३०३ मेगावाट विद्युत् आपूर्ति प्रभावित हुन पुगेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment