मनाङमा बाढीको वितण्डा : चामेका पाँच घरमा पूर्ण क्षति, बेँसीसहर–चामे सडक अवरुद्ध
मनाङ। मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने नासो गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ।
बाढीले नासों गाउँपालिका–८ र ९ जोड्ने झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ। त्यस्तै चामेमा रहेका दुईवटा अस्थायी काठे मोटर पुलमा पनि क्षति पुगेको छ। बाढीका कारण चामे बजार क्षेत्रमा समेत बगर र बालुवाले भरिएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार मनाङ ङिस्याङ गाउँपालिका अझै फोन सम्पर्कमा आउन सकेको छैन। बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा सम्पर्क तथा आवागमन प्रभावित भएको उनले बताए।
त्यस्तै, मनाङको मेरुदण्डका रूपमा रहेको बेँसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि मनाङ सदरमुकाम चामेसहित जिल्लाका विभिन्न क्षेत्रमा आवागमन प्रभावित भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment