भोटेकोशी बाढीपहिरो पीडितका लागि १ करोड ४२ लाख राहत हस्तान्तरण

डिसी नेपाल
१२ असोज २०८३ ११:५०

न्यूयोर्क। अमेरिकाको भर्जिनियामा सक्रिय गैरनाफामूलक संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) ले रसुवा-भोटेकोशी बाढीपहिरो प्रभावितहरूको राहत तथा पुनस्र्थापनाका लागि १ करोड ४२ लाख नेपाली रुपैयाँ (९२,९६४ अमेरिकी डलर) सहयोग गरेको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाललाई समाजका प्रतिनिधिहरूले सो रकमको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।

चेक ग्रहण गर्दै परराष्ट्रमन्त्री खनालले प्राप्त रकमको पारदर्शी र उचित सदुपयोग हुने विश्वास दिलाउँदै प्रवासी नेपालीहरूका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताउनुभयो।

कार्यक्रममा एएनएचएसका पूर्वसंरक्षक मधुसुदन पन्थीको संयोजकत्वमा गठित ११ सदस्यीय समितिले विभिन्न दाता तथा संघसंस्थाबाट सो रकम संकलन गरेको जानकारी संस्थाकी अध्यक्ष कामना पन्थीले दिए।

न्यूयोर्कस्थित महावाणिज्यदूत दधिराम भण्डारीको संयोजनमा सम्पन्न उक्त भेटमा बोर्ड अफ ट्रष्टीका अध्यक्ष केदारप्रसाद तिम्सिनालगायत प्रतिनिधिहरूले गैरआवासीय नेपालीका समस्या र समाधानबारे मन्त्री खनाललाई सुझावसमेत पेस गरेका थिए।

सन २००८ मा भर्जिनियामा स्थापना भई सामाजिक तथा परोपकारी कार्यमा क्रियाशील यस संस्थाले भोटेकोशी विपद्लगत्तै मृतकहरूको सम्झनामा दीप प्रज्वलनसमेत गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *