चाडपर्वमा ठगी र दुर्घटना रोक्न प्रमुख नाकामा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गरिँदै
काठमाडौं। नेपाल प्रहरीले आगामी दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका प्रमुख नाका तथा प्रस्थान विन्दुहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ।
सोमबार पूर्वाधार विकास समितिको बैठकमा आगामी चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा भएको छलफलका क्रममा प्रहरीले उक्त सहायता कक्ष सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
बैठकमा बोल्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले चाडपर्वका बेला यात्रु ठगिने, सास्ती पाउने तथा सवारी दुर्घटना हुने जोखिम न्यूनीकरण गर्न यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको बताए।
उनले आगामी दशैं, तिहार र छठलाई लक्षित गरेर प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिए। यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने, टिकट नदिने, एउटै सिटको टिकट दुई-तीन जनालाई बिक्री गर्ने लगायतका गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइने उनको भनाइ थियो।
यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसहितको टोली परिचालन गरिने तथा बढी सवारी चाप हुने कलंकी-नागढुङ्गा क्षेत्रमा उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरेर यात्रु आवागमनलाई सहज र व्यवस्थित बनाइने उनले स्पष्ट पारे।
डीएसपी शाहका अनुसार विगतका वर्षहरूमा पनि उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो। यस पटक पनि लामो, मध्यम र छोटो दूरीका यात्रुहरूलाई लक्षित गरी उही ढाँचामा सहायता कक्ष सञ्चालन गरिनेछ।
सहायता कक्षबाट यात्रुले तोकिएभन्दा बढी भाडा लिएको, भाडादर पालना नगरेको, टिकट नदिएको वा एउटै सिटको टिकट एकभन्दा बढी यात्रुलाई बिक्री गरेको लगायतका गुनासोहरू तत्कालै सम्बोधन गरिनेछ।
यदि कुनै यातायात व्यवसायी वा काउन्टरले बढी भाडा लिएको पाइएमा सम्बन्धित यात्रु र काउन्टर प्रतिनिधिलाई बोलाएर तत्कालै समस्या समाधान गर्ने गरी नागरिक यात्रु सहायता कक्षले काम गर्नेछ।
सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत एकीकृत रूपमा सहभागी गराउने तयारी भइरहेको शाहले जानकारी दिए।
उनले यात्रु सहायता कक्षमा विभिन्न गन्तव्यको आधिकारिक भाडादर यात्रुहरूले प्रस्ट देख्ने गरी उपलब्ध गराउन यातायात व्यवस्था विभागलाई आग्रह समेत गरे।
उनका अनुसार अग्रिम टिकट बुकिङ खुला भएपछि टिकट काट्ने व्यक्तिको परिचयपत्र, सम्बन्धित यातायात समिति र टिकट काट्ने कर्मचारी आबद्ध संस्था वा कम्पनीको विवरण प्रस्ट रूपमा राखिएमा ट्राफिक प्रहरीलाई अनुगमन, निरीक्षण तथा दोषीमाथि कारबाही गर्न सहज हुनेछ।
यसैगरी डीएसपी शाहले चाडपर्वका बेला सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि रुटअनुसार नै सवारीसाधन सञ्चालन गर्नुपर्ने विषयमा विशेष जोड दिए। विगतका वर्षहरूमा दशैँको समयमा अपनाइने गरिएको ‘क्यु-फ्री’ (रुट परमिट खुला) प्रणालीलाई पनि रुटअनुसार नै व्यवस्थित गरिनुपर्ने उनको भनाइ थियो।
झापा जाने बसलाई झापाकै रुटमा र पोखरा जाने बसलाई पोखराकै रुटमा सञ्चालन गर्दा चालकलाई सम्बन्धित सडक र त्यसको वस्तुस्थितिबारे पूर्वजानकारी हुने भएकाले दुर्घटनाको जोखिम उल्लेख्य रूपमा कम गर्न सकिने शाहले बताए।
अपरिचित रुटमा सवारी चलाउँदा चालकलाई सडकको भौतिक अवस्था, भिरपखाला, घुम्ती तथा खाल्डाखुल्डीबारे पर्याप्त जानकारी नहुन सक्ने र त्यसले दुर्घटनाको जोखिम बढाउने उनको तर्क थियो।
यसैबिच, चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने सबैभन्दा बढी सवारी चाप हुने कलंकी-नागढुंगा सडकखण्डमा ट्राफिक व्यवस्थापनका लागि उपलब्ध जनशक्तिलाई अधिकतम मात्रामा परिचालन गरिने जानकारी पनि शाहले दिए।
उनका अनुसार दशैँ सुरु हुनुभन्दा करिब चार दिनअघिदेखि सो सडकखण्डमा सवारीसाधनको चाप अत्यधिक बढ्ने भएकाले त्यसलाई व्यवस्थित गर्न र यात्रुलाई निर्बाध रूपमा गन्तव्यतर्फ पठाउन प्रहरी जनशक्ति पूर्ण क्षमतामा परिचालन गरिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment