रुसमा आणविक क्षमतायुक्त टीयू-९५ सैन्य विमान दुर्घटना: चालक दलका ६ जनाको मृत्यु
काठमाडाैं। रुसको सुदूरपूर्वी क्षेत्रमा पर्ने आमुर ओब्लास्टमा रुसी वायुसेनाको अत्याधुनिक आणविक क्षमतायुक्त ‘टीयू-९५’ रणनीतिक बोम्बर विमान दुर्घटनाग्रस्त भएको छ। मङ्गलबार नियमित तालिम उडानका क्रममा भएको यस भीषण दुर्घटनामा परि चालक दलका ६ जना सदस्यको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
रुसी रक्षा मन्त्रालयका अनुसार विमान उडान भरेको केही समयमै राजधानी मस्कोबाट करिब ४ हजार किलोमिटर टाढा रहेको सुदूरपूर्वी आमुर क्षेत्रको एक मानवविहीन तथा सुनसान भूभागमा खसेको थियो।
दुर्घटनापछि जमिनमा बज्रिएलगत्तै विमानको इन्धन ट्यांकी विस्फोट भई भीषण आगो लागेको थियो। घाइते भएका एक सैनिकको उद्धार गरी तत्कालै नजिकैको सैन्य स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ।
रुसी रक्षा मन्त्रालयले तालिम उडानका क्रममा भएकाले विमानमा कुनै पनि प्रकारका हतियार वा आणविक गोलाबारुद लोड नगरिएको स्पष्ट पारेको छ। शीतयुद्धकालीन मुख्य पहिचान मानिने यो ‘टुपोलेभ टीयू-९५’ रणनीतिक बोम्बर एकपटक इन्धन भरेपछि लगातार १० हजार ५०० किलोमिटरसम्म उड्न सक्ने र ९ हजार किलोग्रामसम्मका अत्याधुनिक हतियार तथा आणविक मिसाइल बोक्न सक्ने क्षमताको विमान हो।
दुर्घटनाको प्राविधिक कारणबारे अनुसन्धान गर्न रुसी रक्षा मन्त्रालयको विशेष टोली घटनास्थलमा खटाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment