पृथ्वी राजमार्ग आज दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

डिसी नेपाल
१४ असोज २०८३ ८:०७

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज बुधबार दिउँसोदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै थप पहिरो वा अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो।

गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात सेवा ठप्प भएको थियो। सडकमा थुप्रिएको पहिरो र लेदो हटाउने कार्य निरन्तर भइरहेकाले हालसम्म एकतर्फी रूपमा मात्र सवारी आवागमन सुचारु रहँदै आएकोमा दिउँसोदेखि दुवैतर्फ सञ्चालन गर्ने तयारी गरिएको हो।

हाल वर्षा रोकिएको भए तापनि राजमार्गका जोखिमपूर्ण खण्डहरूमा जुनसुकै समयमा पनि माथिबाट पहिरो झर्न सक्ने सम्भावना कायमै रहेको छ। यस परिस्थितिमा जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, यात्राका क्रममा लेन अनुशासन र ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्नसमेत प्रशासनले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *