बाढीपहिरो प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण

डिसी नेपाल
१४ असोज २०८३ ९:३७

बाजुरा। बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ। लगातारको वर्षाका कारण घर, खेतबारी तथा दैनिक जनजीवन प्रभावित भएका परिवारलाई खाद्यान्न, गैरखाद्य तथा सरसफाइका सामग्री उपलब्ध गराइएको हो।

‘पश्चिम नेपालमा बाढी तथा पहिरो आपत्कालीन प्रतिकार्य परियोजना–२०२६’ अन्तर्गत बडीमालिका फाउन्डेसन नेपालको समन्वयमा प्रभावित परिवारलाई राहत वितरण गरिएको हो। राहत सामग्रीमा चामल, दाल, नुन, खानेतेल, म्याट्रेस, ब्ल्याङ्क्वेट, सोलार बत्ती, न्यानो कपडाका साथै साबुन, बाल्टिनलगायत सरसफाइका सामग्री रहेका छन्।

वर्षायामपछि विस्थापित भएका तथा घरमा क्षति पुगेका परिवारलाई प्राथमिकताका आधारमा राहत सामग्री वितरण गरिएको हो। कारितास नेपालका प्रदेश कार्यक्रम अधिकृत ऋषि शर्माका अनुसार बडीमालिका नगरपालिकाका ६७, त्रिवेणी नगरपालिकाका ४५ र गौमुल गाउँपालिकाका ४६ गरी कुल १५८ प्रभावित परिवारले राहत सामग्री प्राप्त गरेका छन्।

स्थानीय तहसँगको समन्वयमा राहत वितरण अभियान असोज ९ गते त्रिवेणी नगरपालिका–९ ताम्सुबाट सुरु गरिएको थियो। त्यसपछि असोज ११ गते बडीमालिका नगरपालिका र असोज १२ गते गौमुल गाउँपालिकामा राहत सामग्री वितरण गरिएको थियो।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले यस वर्षको वर्षायाममा बाजुरामा मानवीय क्षति न्यून रहे पनि सडक, खानेपानी, सिँचाइ, घर तथा सार्वजनिक संरचनामा ठूलो भौतिक क्षति पुगेको बताए।

गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बाढीपहिरोका कारण गाउँपालिकाका विभिन्न वडामा दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारीमा क्षति पुगेको बताइन्। विपद्पछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने संस्थाहरूको सहयोगले पीडितलाई ठूलो राहत महसुस भएको उनको भनाइ छ।

नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष तथा बडीमालिका फाउन्डेसन नेपालका उपाध्यक्ष पदमबहादुर सिंहले जिल्लामा विपद् पर्दा विभिन्न संघसंस्थासँग समन्वय गरी प्रभावित समुदायसम्म सहयोग पुर्‍याउने प्रयास निरन्तर भइरहेको बताए।

यस वर्षको मनसुनमा लगातारको वर्षापछि बाजुराका विभिन्न बस्तीमा पहिरो खस्दा घर जोखिममा परेका, खेतबारी बगेका तथा खाद्यान्न अभाव झेलिरहेका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको हो।

गत साउन २८ गते राति अविरल वर्षासँगै आएको पहिरोले त्रिवेणी नगरपालिका–९ ताम्सुमा घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। उक्त क्षेत्रका बस्ती अहिले पनि उच्च जोखिममा रहेका छन्। त्यस्तै, गौमुल गाउँपालिका–३ काटीगाउँलगायत विभिन्न वडामा भदौ ४ गतेको अविरल वर्षापछि गएको पहिरोका कारण दर्जनौँ परिवार विस्थापित भएका थिए। भदौ १९ र २० गते आएको बाढीपहिरोले बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा घर तथा खेतबारीमा समेत क्षति पुर्‍याएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *