विद्यालयमा नारायणीको बाढी, सफा गर्दै शिक्षक र विद्यार्थी (तस्बिर)

डिसी नेपाल
१४ असोज २०८३ ११:०९

चितवन। असोज ८ गतेदेखि लगातार चार दिनसम्म परेको अविरल वर्षा र नारायणी नदीमा आएको भिषण बाढीका कारण भरतपुर महानगरपालिका-१ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय तहसनहस भएको छ।

बाढीसँगै बगेर आएको बाक्लो हिलो र लेदो-माटो कक्षाकोठाभित्र भरिएपछि विद्यालयको पठनपाठन पूर्ण रूपमा ठप्प बनेको छ।

विद्यालय परिसर तथा कक्षाकोठाहरूमा बाक्लो माटो जमेकाले साबेलले पन्छाउनसमेत अत्यन्तै कठिन परेको छ। स्थानीय बासिन्दाहरू आफ्नै घरभित्र पसेको हिलो र सफाइमा व्यस्त रहेकाले ज्याला दिएर काम गराउन खोज्दा पनि मजदुर पाउन सकिएको छैन।

बाह्य क्षेत्र वा निकायबाट ठोस सहयोग नभएसम्म शिक्षिका र कर्मचारीको भरमा मात्र सरसफाइ सम्पन्न गर्न निकै लामो समय लाग्ने देखिएको छ।

समस्या समाधान र सरसफाइका लागि विद्यालय प्रशासनले वडा कार्यालय, भरतपुर महानगरपालिका, महानगरको शैक्षिक शाखा तथा वीरेन्द्र क्याम्पस अगाडि रहेको नेपाली सेनाको ब्यारेकलगायत सम्भावित सबै निकायमा पुगेर सहयोगको याचना गरिसकेको छ।

तर, सबैजसो निकायबाट आश्वासन मात्र प्राप्त भएको र अहिलेसम्म उद्धार वा सरसफाइका लागि जनशक्ति नखटाइएको विद्यालयको गुनासो छ। भरतपुर महानगरपालिकाबाट आएको दमकलले दुई दमकल पानी हालेर विद्यालयको माथिल्लो पेटी सफा गरिदिए पनि कक्षाकोठाहरू अझै हिलाम्मे र जोखिमपूर्ण अवस्थामै छन्।

भवन र कक्षाकोठाहरू अझै पनि जोखिमपूर्ण अवस्थामा रहेकाले बालबालिकालाई भित्र राखेर पढाउन सक्ने वातावरण बनेको छैन। नेपालीहरूको महान् पर्व दसैँ नजिकिँदै गर्दा विद्यालय यसरी ठप्प भएपछि बालबालिकाको पढाइ बिग्रने चिन्ताले अभिभावकहरू पिरोलिएका छन्।

अर्कातर्फ, विद्यालयप्रति माया र अपनत्व दर्शाउँदै केही साना विद्यार्थीहरू आफैं साबेल र बाल्टी बोकेर हिलो फाल्न कस्सिएका छन्। हाल यस विद्यालयमा १ सय २० जना विद्यार्थी अध्ययनरत छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *