वीरगन्ज नाकामा पोके तस्करी नियन्त्रण सुरक्षाकर्मीका लागि मुख्य चुनौती, झडपका घटना बढ्दै
वीरगन्ज। मुलुकको प्रमुख व्यापारिक प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाकामा पछिल्लो समय ‘पोके तस्करी’ नियन्त्रण गर्न सुरक्षा निकायका लागि ठूलो चुनौती बनेको छ।
भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका सामान बोकेर महिला, बालबालिका तथा पुरुषहरूको समूह नेपाल प्रवेश गर्ने क्रम बढेसँगै सुरक्षाकर्मी र तस्करबीच सीमाक्षेत्रमा झडपका घटनाहरू समेत सार्वजनिक हुन थालेका छन्।
गत असोज ७ गते राति सिर्सिया नाकामा ड्युटीमा खटिएका दुई सशस्त्र प्रहरी जवान तस्कर समूहको आक्रमणमा परी घाइते भएका थिए।
भारतबाट कपडा बोकेर आउँदै गरेको महिलाको समूहबाट सामान नियन्त्रणमा लिन खोज्दा करिब एक दर्जन पुरुष तथा महिला तस्करहरूसँग सुरक्षाकर्मीको झडप भएको थियो। सामान बरामद गरेपछि सीमाक्षेत्रमा जम्मा भएको तस्कर समूहले सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरेको प्रहरीले जनाएको छ।
सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र पोके तस्करबिच झडप भएको यो पहिलो घटना भने होइन। वीरगन्ज आसपासका सीमाक्षेत्रमा पछिल्लो समय पोके तस्करीसँग सम्बन्धित विवाद र झडपका घटनाहरू शृङ्खलाबद्ध रूपमा बढ्दै गएको सुरक्षा अधिकारीहरू बताउँछन्।
करिब ५०० जना संलग्न, महिला र बालबालिकाको बढी प्रयोग स
शस्त्र प्रहरी बल पर्साका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनसिंह क्षेत्रीका अनुसार वीरगन्ज आसपासको सीमाक्षेत्रमा पोके तस्करी मुख्य सुरक्षा चुनौतीका रूपमा देखिएको छ। कतिपय परिवारको जीविकोपार्जनको मुख्य आधार नै यही काम बनेकाले यसलाई नियन्त्रण गर्न थप जटिलता उत्पन्न हुने गरेको उनले बताए।
क्षेत्रीका अनुसार वीरगन्ज आसपासमा महिला, बालबालिका र पुरुष गरी करिब ५०० जना दैनिक रूपमा पोके तस्करीमा संलग्न हुने गरेका छन्। तीमध्ये महिला तथा बालबालिकाको सङ्ख्या उल्लेख्य छ। सामान बरामद वा व्यक्ति पक्राउ परे पनि छुटेपछि कतिपय व्यक्ति पुनः यही धन्दामा फर्किने गरेको उनको भनाइ छ।
“पहिला जस्तो साङ्गठनिक रूपमा हुने ठूलो तस्करीलाई हामीले पूर्ण रूपमा नियन्त्रणमा लिएका छौँ, तर महिला र बालबालिकालाई ढाल बनाएर गरिने पोके तस्करी अहिले मुख्य चुनौती बनेको छ,” उपरीक्षक क्षेत्रीले भने।
मूल्य अन्तरका कारण आकर्षण
नेपाली बजारको तुलनामा सीमावर्ती भारतीय बजारमा धेरैजसो वस्तु सस्तो पर्ने भएकाले पोके तस्करीमा आकर्षण बढेको स्थानीय व्यापारीहरू बताउँछन्।
उनीहरूका अनुसार भारतीय बजारमा चिनी प्रतिकिलो ६४ भारतीय रुपैयाँमा पाइन्छ भने खानेतेल नेपाली बजारको तुलनामा प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म सस्तो पर्छ। त्यस्तै, कपडामा प्रतिगोटा ३०० देखि ४०० रुपैयाँसम्म र मोबाइलमा ४ हजारदेखि ५ हजार रुपैयाँसम्म मूल्य अन्तर हुने गरेको छ।
तस्करहरू बिहानैदेखि रातिसम्म टाउकोमा सामान बोकेर खेत, आली तथा सिर्सिया नदी हुँदै नेपाल प्रवेश गर्ने गर्छन्। कतिपयले सुरक्षाकर्मीको निगरानी कमजोर हुने समय पर्खिँदै सीमाक्षेत्रमै २४ देखि ४८ घण्टासम्म बसेर सामान भित्र्याउने प्रयास गर्छन्। भारतबाट ग्रामीण नाकामार्फत भित्र्याइएका सामान वीरगन्जका व्यापारीहरूमार्फत बिलिङ गराएर देशका अन्य सहरहरूसम्म पुर्याउने गरिएको व्यापारीहरूको भनाइ छ।
करोडौँको गैरकानुनी सामान बरामद
सीमामा निगरानी र कडा सुरक्षा व्यवस्थाका बाबजुद पर्सामा भन्सार छलीका सामान बरामद हुने क्रम जारी छ। असोज पहिलो साता जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज-१६ इनर्वागाउँ र छपकैयाबाट २० लाख ८१ हजार रुपैयाँभन्दा बढी मूल्यका खाद्यान्न तथा औषधि बरामद गरेको थियो।
त्यस्तै, सशस्त्र प्रहरीले असोज ३ गते नैकाटोलाबाट मोबाइलका पार्टपुर्जा तथा पकाहामैनपुरबाट कपडासहित १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका सामान जफत गरेको थियो।
सशस्त्र प्रहरी बल पर्साको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा तस्करीमा संलग्न १६५ जना पक्राउ परेका थिए भने २८ करोड ९२ लाख रुपैयाँ बराबरको सामान बरामद भएको थियो।
त्यस्तै, आव २०८२/८३ मा १०७ जना पक्राउ पर्नुका साथै २४ करोड ९८ लाख रुपैयाँ बराबरका सामान जफत गरिएको थियो। चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ३२ जना पक्राउ परिसकेका छन् भने ३ करोड ७१ लाख रुपैयाँ बराबरका सामान बरामद भइसकेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङ्कले पनि भन्सार छली नियन्त्रणका क्रममा ठूलो परिमाणमा सामान बरामद भएको देखाउँछ। आव २०८०/८१ मा ५३ करोड ४६ लाख रुपैयाँ बराबरका सामान बरामद हुँदा चार जनामाथि कारबाही चलाइएको थियो।
आव २०८१/८२ मा ५९ करोड ९४ लाख रुपैयाँ बराबरका सामान बरामद हुनुका साथै ११ जना पक्राउ परेका थिए। आव २०८२/८३ मा ६३ लाख ९६ हजार रुपैयाँ बराबरका सामान बरामद र पाँच जना पक्राउ परेका थिए।
चालु आर्थिक वर्षको भदौसम्म एक जना पक्राउ परेको र १७ करोड ५५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
नेपाल–भारत सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि सुरक्षा उपस्थिति बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। पर्सामा सशस्त्र प्रहरीको ७ सय जनाको दरबन्दी रहेकामा करिब ६ सय सुरक्षाकर्मी सीमाक्षेत्रमै खटिने गरेका छन्।
सुरक्षाकर्मीको निगरानी बढाइए पनि मानवीय संवेदना जोडिएका महिला तथा बालबालिकाको प्रयोग गरी हुने पोके तस्करी नियन्त्रण गर्नु सीमा सुरक्षाको प्राथमिक चुनौती बनेको छ।
No ads found for this position




Facebook Comment