हिमलुङका बेपत्ताको खोजी र कूटनीतिक पहलका लागि सरकारलाई ताकेता
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको तत्काल खोजी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले असोज ११ गते गएको हिमपहिरोमा परी खोटाङको ऐसेलुखर्कका तीन जना कुक बेपत्ता भएको जानकारी दिए।
बेपत्तामध्ये घनश्याम राईको शव भेटिए पनि लखकुमार गुरुङ र सुरज राई अझै बेपत्ता रहेको र सरकारका तर्फबाट प्रभावकारी खोजी कार्य नभएको भन्दै आफन्तहरूले गुनासो गरिरहेकाले गृह र पर्यटन मन्त्रालयले अविलम्ब उद्धार तथा खोजी अघि बढाउनुपर्नेमा उनले जोड दिए।
यसैबिच, त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगो लगाएर आत्मदाह गरेका अर्जुन दोङ तामाङको पीडित परिवारसँग सरकारले हालसम्म कुनै पनि सकारात्मक संवाद नगरेको भन्दै सांसद राईले गृहमन्त्रीको ध्यानाकर्षण गराए।
पीडित परिवारका सदस्यहरू गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेर बाहिरै पर्खिरहँदा पनि भित्र छिर्न नदिइएको भन्दै उनले सरकारको यस्तो गैरजिम्मेवार व्यवहारप्रति प्रश्न उठाए। पीडितका माग सुनुवाइ गर्न र उनीहरूसँग तत्काल वार्ता गरी राहत तथा न्यायको प्रक्रिया अघि बढाउन उनले सरकारसँग माग गरे।
यसैगरी, सांसद राईले वैदेशिक रोजगारीका क्रममा पोल्यान्ड पुगेका नेपाली श्रमिकहरूले कानुनी रूपमा बैंक खाता खोल्न नपाउँदा ठुलो सास्ती भोग्नुपरेको विषय पनि संसद्मा उठाएका छन्।
नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा परेका कारण पोल्यान्डका बैंकहरूले नेपाली नागरिकको खाता खोल्न अस्वीकार गरिरहेको श्रमिकहरूको गुनासो रहेको उल्लेख गर्दै उनले कूटनीतिक पहलri मार्फत यो समस्याको शीघ्र समाधान खोज्न परराष्ट्र र श्रम मन्त्रालयसँग आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment